भ्रष्टाचार र कुशासनविरोधी नारा लगाउँदै नयाँ पुस्ता (जेनजी) काे देशभर प्रदर्शन

काठमाडौं । नेपालमा पहिलो पटक नयाँ पुस्ता (जेनजी) ले स्वतःस्फूर्त रूपमा सडक आन्दोलनको नेतृत्व लिएको छ। भ्रष्टाचार, अव्यवस्था र सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असहमति जनाउँदै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका हुन् ।

‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टलाई गिज्याउँछ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका विद्यार्थी, युवा र पेसेवरहरू माइतीघरमा जम्मा भए । कतिपय विद्यार्थीहरू विद्यालय र कलेजकै पोशाकमै देखिनु आन्दोलनको स्वतःस्फूर्त र आकस्मिक स्वरूपको प्रमाण थियो।

पछिल्ला दिनमा ट्विटर, फेसबुक, इन्स्टाग्राम र टिकटोकमार्फत भ्रष्टाचार, महँगी, बेरोजगारी र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारी निर्णयविरुद्ध व्यापक असन्तोष व्यक्त हुँदै आएको छ। यसै असन्तोषलाई निरन्तरता दिँदै युवाले सडक प्रदर्शनको बाटो रोजेका हुन् ।

जेनजी पुस्ताका युवाले यो आन्दोलनलाई स्वतन्त्र र गैर-दलीय बनाउन स्पष्ट आग्रह गरेका छन् । राजनीतिक दलसँग आवद्ध भ्रातृ संगठनलाई प्रदर्शनमा सहभागी नहुन खुलेर आग्रह गरिएको छ। उनीहरूको भनाइमा यो कुनै पार्टीको कार्यक्रममा होइन, भ्रष्टाचार र बन्देजविरुद्धको आवाज हो । ‘दलहरूका भ्रातृ संस्थाले आफ्नो अजेंडा लिएर आउँदा हाम्रो आन्दोलनको शुद्धता हराउँछ,’ आयोजक युवामध्ये एकले बताए ।

प्रहरीले प्रदर्शनकारी कम हुने आँकेर सुरुमा मुख्य सडकमा गाडी चलाउन दिएकामा युवाहरुको संख्या एकाएक बढेपछि हतार हतार सडक खाली गराउनु परेको थियो । प्रदर्शनका कारण माइतीघर-बानेश्वर सडक पूर्णरुपमा ठप्प भएको छ ।

सडकमा उनीहरुले सरकार विरोधी नारा लगाएका छन्। उनीहरुको मुख्य निशानामा प्रधानमन्त्री केपी शर्मा परेका छन्। जेनजी पुस्ताले ओलीविरुद्ध चर्का नारा लगाएका छन् । ओलीलाई लक्षित गरी उनीहरुले ‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’ लगायत नारा लगाएका छन् ।

जेनजी पुस्ताको प्रतिवादलाई समाजका विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरूले खुलेर समर्थन गरेका छन् । शिक्षक, कलाकार, चिकित्सकदेखि उद्यमीहरूले समेत सामाजिक सञ्जालमार्फत समर्थन व्यक्त गरेका छन् । उनीहरूको भनाइमा युवा पुस्ताको जागरणले नेपालमा राजनीतिक र सामाजिक सुधारको नयाँ अध्याय सुरु गर्न सक्छ ।

अहिले दलहरूभन्दा बाहिर स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएको यो जेनजी पुस्ताको आन्दोलनलाई नयाँ किसिमको प्रतिवादका रूपमा हेरिएको छ । सामाजिक सञ्जालमै हुर्किएको पुस्ता अब प्रत्यक्ष लोकतान्त्रिक अभ्यासमा उत्रिन थालेको छ, जसले राजनीतिक नेतृत्वलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्नेछ ।

जेनजीको प्रदर्शनलाई लक्षित गरेर सरकारले काठमाडौंमा उच्च सुरक्षा अपनाउँदै सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । काठमाडौंका मुख्य चोकहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । लैनचौर, दरबारमार्ग, त्रिपुरेश्वर, घण्टाघर, बागबजार, नयाँबानेश्वर जस्ता मुख्य ठाउँहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पोखरा, विराटनगर, जनकुपर, बुटवल, धनगढी लगायत देशभरका मुख्य सहरका सडक जेनजी पुस्ताका प्रदर्शन भएका छन् । जेनजी पुस्ता स्कुल र कलेजको ड्रेसमै प्रदर्शनमा सहभागी भएको छ ।