टीआरसीमा द्वन्द्वकालका १५ हजार थप उजुरी, धेरै जबर्जस्ती करणी र यौनजन्य हिंसाका

काठमाडौं । सत्यनिरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाका विषयलाई लिएर १५ हजारभन्दा बढी नयाँ उजुरी प्राप्त भएको जनाएको छ ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोगका पदाधिकारीले काबु बाहिरको परिस्थिति र जबरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसासँग सम्बन्धित उजुरी माग गर्दा १५ हजार १ सय ९१ नयाँ उजुरी प्राप्त भएको बताएका छन् । आयोगले ३ महिने सार्वजनिक सूचना जारी गरि थप उजुरी माग गरेको थियो । सो अवधिमा आयोगमा ५ हजार ४७१, जिल्लाबाट प्राप्त भएको उजुरी ५ हजार ८ सय ८, जबरजस्ती करणी वा यौनजन्य हिंसासम्बन्धी उजुरी ३ हजार ९ सय १२ रहेको आयोगका सदस्य एवं प्रवक्ता अच्युतप्रसाद भण्डारीले जानकारी गराए ।

यसअघि जबरजस्ती करणी वा यौनजन्य हिंसासम्बन्धी ३ सय १४ उजुरी मात्र दर्ता भएको थियो । सबैभन्दा बढी जिल्लागत उजुरी दर्ता भएको जिल्लामा जाजरकोटबाट ८ सय ८३ उजुरी प्राप्त भएको उनले सुनाए । नयाँ र पुरानो गरी हालसम्म कुल ७८ हजार ९ सय ९ दर्ता भएको भण्डारीको भनाइ छ ।

आयोगका अध्यक्ष महेश थापाले जबरजस्ती करणी वा यौनजन्य हिंसासम्बन्धी उजुरी यसअघिको भन्दा धेरै परेको बताए । पीडितहरूको गोपनीयतालाई ध्यानमा राखेर आयोगले कामकारबाहीलाई अघि बढाउने भन्दै थापाले पहिलो दुई वर्षभित्रमा सबै मुद्दाहरूको सत्यतथ्य छानबिन गर्ने र अरु प्रक्रिया अघि बढाइने उल्लेख गरे ।

आयोगलाई आवश्यक स्रोत साधन पर्याप्त भए ४ वर्षभित्र सबै काम टुंग्याइने अधिकारीले जनाएको छ । आयोगले २०५२ साल फागुन २ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्मका घटनाहरूमा मात्रै आयोगसमक्ष उजुरी दिन पाइने व्यवस्था गरेको थियो ।