नेप्से ६.५५ अंक घटेर २७१९.७७ विन्दुमा ओर्लियो, कारोबार केही बढेर ५,१४,४३,२२००० को भयाे

साताको अन्तिम कारोबार दिन आज पनि नेप्से परिसूचक घट्ने क्रमले निरन्तरता पाएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दियो ।

आज नेप्से परिसूचक ६.५५ अंक घटेर २७१९.७७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ ।

कारोबार रकममा भने सामान्य वृद्धि भएको छ। हिजाे बुधबार ४ अर्ब ७२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सो कम्पनीको शेयरमूल्य ३२ रुपैयाँ ३० पैसा बढेर ३ सय ५५ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमन्ट कम्पनी र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशत बढेको छ । आज मूल्य घटेका स्टकहरुको गिरावट दर ४ प्रतिशतभन्दा कम छ।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको ३५ करोड ३५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमन्ट कम्पनीको १९ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्स र यूनियन हाइड्राेपावरको कारोबार रकम साढे १७ करोड नाघेको छ।

१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक ०.५८ प्रतिशत बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१३ बढेको छ ।