एन आई सी एशिया क्यापिटलको नवौं वार्षिक साधारणसभा, ५० प्रतिशत नगद लाभांश पारित

एन आई सी एशिया क्यापिटलको नवौं वार्षिक साधारणसभा यही भाद्र १८ गते बुधबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८१\०८२को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ । उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

उक्त सभामा संचालक समितिको अध्यक्षश्री सन्तोष कुमार राठीले रु.२० करोड चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा रु. ३० करोड ६० लाखभन्दा बढी आम्दानी गरी रु. ११ करोड ६४ लाखभन्दा बढी खुद मुनाफा आर्जन गरेको जानकारी गराए । त्यसैगरी व्यवसायतर्फ आषाढ मसान्त, २०८२ सम्म ८ लाख डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवाअन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्म ५ वटा योजनामार्फत रु.५ अर्ब ४५ करोडभन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको छ ।लगानी व्यवस्थापन सेवाअन्तर्गत ७२० जना ग्राहकबाट रु.२ अर्ब ७० करोडभन्दा बढीको रकम व्यवस्थापन गर्न सफ भएको छ । शेयर रजिष्ट्रार सेवाअन्तर्गत २३ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा “आईडीईए टु आईपीओ” सेवाअन्तर्गत १७ वटा कम्पनीको निष्कासन कार्य सम्पन्न गरिसकेको व्यहोरा समेत सभालाई जानकारी गराए । साथै क्यापिटलले नवौंवार्षिक साधारणसभामा प्रस्ताव गरेको लाभांशसहित आफ्ना शेयरधनीलाई हालसम्म २९० प्रतिशत रिटर्न वितरण गर्न सफल भएको जानकारी गराए ।