सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकममा केही सुधार
बुधबार पनि नेप्से परिसूचक १५.६४ अंक घटेर २७२६.३३ विन्दुमा झरेर बन्द भएको छ । आज सेन्सेटिभ इण्डेक्स २.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंक घटेको छ ।
सेयर बजार घटे पनि आज कारोबार रकम भने केही बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज ३ सय २६ स्टकको ६८ हजार ५ सय ९४ पटकको कारोबारमा ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
३९ कम्पनीको सेयर मूल्य बढेको छ । हिमस्टार ऊर्जा कम्पनीको सेयरमूल्य बढेर पोजेटिभ सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३३ करोड ८० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, लिबर्टी इनर्जीको करिब साढे २७ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने नेपाल पुनर्बिमा कम्पनीको कारोबार रकम २६ करोड नाघेको छ ।
१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । जलविद्युत र होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.९३ प्रतिशत र विकास बैंकको ०.८५ प्रतिशत घटेको छ।