अनुदानकाे २०० बाेरा मल लुकाएर आफ्नो गाेदाममा भण्डार गर्ने व्यापारी पक्राउ

काठमाडौं । सरकारले किसानलाई वितरण गर्न पठाएको २ सय बाेरा अनुदानकाे मल लुकाएर आफ्नो गाेदाममा भण्डार गर्ने व्यापारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी छन् । चाैधरीलाई पक्राउ गरेर मंगलबार मात्रै जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईँले बताए । उक्त मल सर्वदलीय छलफलपछि अहिले किसानलाई वितरण गर्ने काम अघि बढाइएको छ । १ सय ७५ बोरा मल वडा नं १ देखि ७ नम्बर वडासम्म वितरण गर्ने निर्णय गरिएको थियो । इलाका प्रहरी कार्यालयबाट किसानलाई वितरण गर्न मल वडा वडामा लगिसकेको डीएसपी बजगाईंले बताए । नगरपालिकाले वितरण गरेको मलको मूल्य एक हजार लिएर किसानलाई वितरण गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ । मल वितरणको रकम भने राजस्वको खातामा जम्मा गरिने भएको छ ।