तिहारअघिको सेयर बजार २.६४ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ४६ करोडमा सीमित

कारोबार रकमका आधारमा घोराही सिमेन्ट शीर्ष स्थानमा रहेको छ । कम्पनीको २१ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

काठमाडौं । तिहार बिदाअघिको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । आज नेप्से २.६४ अंकले बढेर २६५५.२२ विन्दुमा पुगेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.१८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक बढेको छ । शुक्रबार बजारमा कारोबार रकम भने घटेको छ । आज ३३६ स्क्रिप्टको ३ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन बिहीबार ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

शुक्रबार कारोबारमा आएका कम्पनीमध्ये १५८ वटाको सेयर मूल्य बढेको छ भने १०७ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ । आज सबैभन्दा धेरै मूल्य बढ्नेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयर मूल्य १४.०८ प्रतिशतले बढेको छ । त्यस्तै, बेनी हाइड्रोपावर प्रोजेक्टको ५.७८ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ३.४२ प्रतिशत, एनएमबि माइक्रोफाइनान्सको ३.१९ प्रतिशत र चिरख्वा हाइड्रोपावरको ३.१८ प्रतिशतले सेयर मूल्य बढेको छ ।सबैभन्दा धेरै मूल्य घट्नेमा घोराही सिमेन्ट रहेको छ । कम्पनीको सेयर मूल्य ६.४० प्रतिशतले घटेको छ । नेपाल पुनर्बीमाको ३.७० प्रतिशत, कालिन्चोक दर्शनको २.७० प्रतिशत र गुराँस लघुवित्तको २.६४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट शीर्ष स्थानमा रहेको छ । कम्पनीको २१ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, श्वेतगंगाको १२ करोड ७९ लाख, रिलायन्स स्पिनिङ मिल्सको ११ करोड ९३ लाख, घलेम्दीको १० करोड ४० लाख र सानिमा माईको ९ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस साता सेयर बजारमा कारोबार रकम घट्दो क्रममा देखिएको छ ।