बिग मार्टबाट ४१५ रुपैयाँको सामान किनेका जनकपुरका उपभोक्ताले जिते १० लाख रुपैयाँ

अर्थ मन्त्रालयमा सोमबार आयोजित ‘कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ अन्तर्गत गरिएको लक्की ड्रबाट ती उपभोक्ता बम्पर पुरस्कारका लागि छनोट भएका हुन् ।

काठमाडौं । बिग मार्टबाट कात्तिक ५ गते ४१५ रुपैयाँको सामान खरिद गरेका जनकपुरका एक उपभोक्ताले सरकारको करदाता प्रोत्साहन पुरस्कार योजनाअन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित ‘कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ अन्तर्गत गरिएको लक्की ड्रबाट ती उपभोक्ता बम्पर पुरस्कारका लागि छनोट भएका हुन् ।

सरकारले उपभोक्तालाई सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने उद्देश्यले यो योजना सञ्चालन गर्दै आएको छ । कात्तिक १ देखि १५ गतेसम्म जारी भएका बिलमध्येबाट १५ जना दैनिक विजेता र एक जना बम्पर विजेता गरी १६ जना छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

लक्की ड्रमार्फत विजेता घोषणा भएपछि कार्यक्रमस्थलबाटै उनलाई टेलिफोन गरिएको थियो । सुरुमा पुरस्कारबारे अनभिज्ञ रहेका उनले आफू नेपाल प्रिमियर लिग (एनपिएल) को जनकपुर बोल्ट्स समर्थक रहेको बताएका थिए ।

त्यसपछि कार्यक्रममा उपस्थित जनकपुर बोल्ट्सका खेलाडी तथा राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशीले फोनमार्फत उनलाई बधाई दिएका थिए । कुराकानीका क्रममा विजेताले पुरस्कारस्वरूप प्राप्त हुने १० लाख रुपैयाँ घर निर्माणमा खर्च गर्ने बताए ।

आयोजकका अनुसार विजेताले कात्तिक ५ गते बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका थिए । उनलाई सक्कल बिलसहित जनकपुरस्थित आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ । आवश्यक प्रक्रिया पूरा भएपछि आगामी मंसिर १ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा अर्थमन्त्रीले विजेतालाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।