वैदेशिक रोजगारीमा रहेकाले हिम पर्वतको आईपीओ भर्ने आज अन्तिम दिन

कम्पनीले कात्तिक ११ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आज बैंकिङ समयपछि आवेदन लिने कार्य बन्द गर्ने भएको छ ।

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज सोमबार अन्तिम दिन हो । कम्पनीले कात्तिक ११ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आज बैंकिङ समयपछि आवेदन लिने कार्य बन्द गर्ने भएको छ ।

कम्पनीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्कासन गरेको हो । यस समूहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

कम्पनीको जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँ छ। यसको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने व्यवस्था गरिएको छ । त्यसमध्ये जारी पुँजीको २५ प्रतिशत अर्थात् ४२ करोड २५ लाख रुपैयाँ बराबरको ४२ लाख २५ हजार कित्ता सेयर सर्वसाधारण समूहका लागि छुट्याइएको छ । उक्त समूहका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज २० गते आईपीओ निष्कासनको अनुमति दिएको थियो। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको बाँकी सेयर पनि चरणबद्ध रूपमा निष्कासन गर्नेछ ।