नेप्सेमा सामान्य अंकको करेक्सन, कारोबार रकम भने साढे ६ महिनायताकै उच्च

यस दिन १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६९ कम्पनीको घटेको छ ।

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से सूचक घटेको छ। दशैँ बिदा अघिदेखि बढिरहेको बजारमा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा आज नेप्सेमा करेक्सन भएको हो ।

शुक्रबार नेप्से परिसूचक ५.४५ अंक घटेर २६९०.१५ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक घटेको छ । नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार ८ अर्ब ५७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा  आज  ८ अर्ब ८९ करोड १५ लाख ७४ हजार रुपैयाँबराबरको यर कारोबार भएको छ । यस हिसाबले शुक्रबारको कारोबार रकम करिब ६ महिनायताकै उच्च हो । अघिल्लो दिन बिहीबार (कात्तिक १२ गते) ८ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो ।

बेनी हाइड्रोपावरको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १२ प्रतिशतभन्दा बढी बढेको छ भने लुम्बिनी विकास बैंकको सेयरमूल्य ७ प्रतिशत बढेको छ । कारोबारमा आएको मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य आज सर्वाधिक ४.०८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ४८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको कारोबार रकम ३० करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । आज विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशत बढेको छ । त्यस्तै, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।

यस दिन १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६९ कम्पनीको घटेको छ ।