हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?

कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँबराबरको ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको छ ।

काठमाडौं । हिम पर्वत हाइड्रोपावरले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो । 

कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँबराबरको ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको छ । यसमध्ये कम्पनीले १६ करोड ९० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १६ लाख ९० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको हो । स्थानीयका लागि छुट्याइएको सेयरमध्ये १० लाख १४ हजार कित्ता आयोजनाको अति प्रभावित क्षेत्र दोलखाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दालाई बाँडफाँट गरिनेछ ।

बाँकी ६ लाख ७६ हजार कित्ता सेयर बिगु र कालिन्चोक गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दाका लागि छुट्याइएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको सेयरको १० प्रतिशत अर्थात ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको छ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीले उक्त सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताले अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन छिटोमा कात्तिक २५ गते बन्द हुनेछ । सो अवधिसम्म पर्याप्त आवेदन नपरे निष्काशन अवधि मंसिर १० गतेसम्म लम्बिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आईपीओ निष्काशन छिटोमा कात्तिक १६ गते बन्द हुनेछ । पर्याप्त आवेदन नपरे कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा कार्यालय तथा लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सनेन्टसन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो  सेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।