४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रसारण सुरु

काठमाडौं । कालीगण्डकी नदीमा आएको भीषण बाढीपहिरोका कारण अवरुद्ध भएको मिस्ट्री खोला जलविद्युत आयोजनाको विद्युत् प्रसारण पुनः सञ्चालनमा आएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा सञ्चालित ४२ मेगावाट क्षमताको मिस्ट्री खोला जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत् प्रसारण असोज ११ गतेदेखि अवरुद्ध भएको थियो ।

माउन्टेन इनर्जी नेपाल लिमिटेडका अनुसार नेपाल विद्युत् प्राधिकरणअन्तर्गत दाना–कुश्मा २२० केभी प्रसारण लाइनका टावरहरूमा क्षति पुगेपछि आयोजनाको विद्युत् प्रसारण रोकिएको थियो । असोज १९ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीपहिरोका कारण उक्त क्षेत्रमा थप क्षति पुगेको कम्पनीले जनाएको छ ।

क्षतिग्रस्त टावरहरूको मर्मतसम्भार सम्पन्न भएपछि असोज ३१ गतेदेखि आयोजनाको विद्युत् प्रसारण पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।