दसैँ बिदामा पनि स्वास्थ्य सेवा नियमित गर्न आग्रह
मन्त्रालयले अस्पतालमा पर्याप्त जनशक्ति परिचालन गरी आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचारलगायत अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालनको व्यवस्था गर्न सबै अस्पताललाई अनुरोध गरेको हो ।
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सङ्घ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले अस्पतालमा पर्याप्त जनशक्ति परिचालन गरी आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचारलगायत अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालनको व्यवस्था गर्न सबै अस्पताललाई अनुरोध गरेको हो । मन्त्रालयले उपचारका लागि आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थलगायत सामग्रीको पर्याप्त मौज्दात सुनिश्चित गर्न पनि भनेको छ । बिदाका समयमा स्वास्थ्य सामग्रीको अभावका कारण बिरामीले सास्ती भोग्नुपर्ने अवस्था आउन नदिन अस्पतालले पूर्वतयारी गर्नुपर्नेछ ।
सेवा प्रवाहका क्रममा समस्या उत्पन्न भएमा वा बिरामी तथा सेवाग्राहीबाट गुनासो आएमा तत्काल सम्बोधन गर्न प्रत्येक अस्पतालले सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरिएको छ । सम्बन्धित व्यक्तिको नाम, पद, सम्पर्क नम्बर र ड्युटी तालिकासहितको विवरण मन्त्रालयले तोकेको इमेलमा पठाउन पनि निर्देशन दिइएको छ ।