नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढ्यो, अब बजार कात्तिक ९ गते मात्रै खुल्ने

आज ४ अर्ब ८८ करोड ८९ हजार रुपैयाँबराबरको १ करोड ३३ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ ।

काठमाडौँ । दसैँ अघिको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला ६ कारोबार दिनदेखि बढिरहेको सेयर बजार परिसुचक नेपाल स्टक एक्सेन्ज (नेप्से)ले पनि सोही क्रमलाई निरन्तरता दिएको हो । शुक्रबार नेप्से परिसूचक ८.२३ अंक बढेर २६३४.१७ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिनसेन्सेटिभ इण्डेक्स १.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक बढेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार ४ अर्ब ७१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ८८ करोड ८९ हजार रुपैयाँबराबरको १ करोड ३३ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ । 

आज चिरख्वा हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १४.८२ प्रतिशत बढेको छ । त्यस्तै, बेनी हाइड्रोपावर प्रोजेक्टको सेयरमूल्य करिब साढे १२ प्रतिशत बढेको । कारोबारमा आएको हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य आज सर्वाधिक ४.९८ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २० करोड ४९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।  १३ उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।

शुक्रबार कारोबारमा आएका मध्य १७४ कम्पनीको मूल्य बढेको छ भने ९१ कम्पनीको मूल्य घटेको छ त्यस्तै १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ । 

अब लगातार दसैंको बिदा परेकाले बजार कात्तिक ९ गते सोमबार मात्रै खुल्नेछ ।