सम्भावित विपद् सामना गर्न प्रहरीलाई अझै सक्षम बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
प्रधानमन्त्री शाहले नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार निर्माणमा सहयोग गर्ने मित्रराष्ट्र र अन्तर्राष्ट्रिय विकास साझेदारलाई धन्यवादसमेत व्यक्त गरे ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई आगामी दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
७१ औँ प्रहरी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले सधैँ अग्रभागमा खटिएर जनताको सेवा गर्ने प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको उल्लेख गरे । उनले प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको समेत जानकारी दिए ।
प्रधानमन्त्री शाहले कर्तव्य पालनाको सिलसिलमा हालैको भोटेकोशी-त्रिशूलीको विपद् तथा विभिन्न कालखण्डमा अमरत्व प्राप्त गर्नुभएको प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले कर्तव्य निर्वाहका सिलसिलामा घाइते र अशक्त भएका प्रहरीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।
पछिल्लो समय बढ्दै गएको वित्तीय र साइबर अपराध रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ थियो । यसका लागि नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैङ्क, इन्टरनेट र टेलिकम सेवा प्रदायक तथा डिजिटल वालेटलाई एक ठाउँमा ल्याई नागरिकका गुनासा थप प्रभावकारी ढङ्गले सम्बोधन गर्ने व्यवस्था भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले कृत्रिम बुद्धिमत्ता (एआई), ‘एरियल सेक्युरिटी एण्ड सपोर्ट युनिट’ र ‘इन्टिग्रेटेड एन्टिस्काम सेन्टर’ स्थापनाको तयारी भइरहेको पनि बताए ।
प्रधानमन्त्री शाहले नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार निर्माणमा सहयोग गर्ने मित्रराष्ट्र र अन्तर्राष्ट्रिय विकास साझेदारलाई धन्यवादसमेत व्यक्त गरे । कार्यक्रममा प्रधानमन्त्री शाहले पठाउनुभएको शुभकामना सन्देश प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वाचन गरेर सुनाएका थिए ।