पुँजी बजार सुधारमा सेबोन र नेप्से सक्रिय, पुनर्संरचना प्रतिवेदन कार्यान्वयनमा जोड

नेप्सेको पुनर्संरचना र दोस्रो बजारको प्रभावकारी सञ्चालनमार्फत पुँजी बजारमा लगानीका विकल्प विस्तार, कारोबार प्रणालीको विश्वसनीयता अभिवृद्धि तथा बजारको पारदर्शिता सुदृढ हुने बोर्डको अपेक्षा छ ।

काठमाडौं । नेपालको पुँजी बजार सुधारका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्टक एक्सचेञ्जको पुनर्संरचना, दोस्रो बजारको व्यवस्थापन र कारोबार प्रणालीलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेका छन् ।

नेपाल सरकारले गठन गरेको नेप्सेको पुनर्संरचनासम्बन्धी सुझाव समिति, २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयन तथा दोस्रो बजारमा कारोबारका उपकरण र सेवा विविधीकरण गर्ने विषयमा असोज २९ गते सेबोनको कार्यालयमा छलफल भएको हो । छलफलमा बोर्डका अध्यक्षसहित उच्च व्यवस्थापन तथा नेप्सेको सञ्चालक समिति र उच्च व्यवस्थापनका पदाधिकारी सहभागी थिए ।

छलफलमा नेप्सेका सञ्चालक समिति अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालले बोर्ड र नेप्सेको सञ्चालक समितिबीचको छलफललाई धितोपत्र बजार सुधारको नयाँ सुरुवातका रूपमा व्याख्या गरे । उनले पुनर्संरचनासम्बन्धी प्रतिवेदनमा उल्लेख भएका तत्काल कार्यान्वयन गर्न सकिने सुझावलाई प्राथमिकतामा राखेर नेप्से अघि बढिरहेको बताए ।

रिसालले नेप्सेको प्रविधि तथा कारोबार प्रणाली, संस्थागत सुशासन, लगानीका उपकरण र सेवामा सुधार गर्न नेप्से प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

छलफलका क्रममा बोर्डका उपकार्यकारी निर्देशक अम्बिका ओझा गुप्ताले नेप्से पुनर्संरचनासम्बन्धी प्रतिवेदनका सुझाव कार्यान्वयन, दोस्रो बजारको सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने र धितोपत्र बजारका उपकरण तथा सेवा विविधीकरणका लागि बोर्डले तयार गरेका नियामकीय विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।

नेप्सेको पुनर्संरचना र दोस्रो बजारको प्रभावकारी सञ्चालनमार्फत पुँजी बजारमा लगानीका विकल्प विस्तार, कारोबार प्रणालीको विश्वसनीयता अभिवृद्धि तथा बजारको पारदर्शिता सुदृढ हुने बोर्डको अपेक्षा छ ।