लगातार छैटौं दिन बढ्यो सेयर बजार, ४ अर्ब ७१ करोडको कारोबार

बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

काठमाडौँ । बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्लो ५ कारोबार दिनदेखि बढिरहेको सेयर बजार परिसुचक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज पनि बढेको हो ।

आज नेप्से परिसूचक ४.५६ अंक बढेर २६२५.८२ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ । 

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । बुधबार ४ अर्ब १३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ७१ करोड ७० लाख रुपैयाँबराबरको १ करोड ३६ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ ।

बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य ४० रुपैयाँ ९० पैसा बढेर ३१३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । बेनी हाइड्रोपावरको सेयर आजदेखि दोस्रो बजारमा कारोबारमा आएको हो । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ । आज मूल्य घटेका स्टकहरुको गिरावटदर ३ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकक २३ करोड ६१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । 

१३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । आज वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत बढेको छ । कारोबारमा आएको बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ ।


बिहिबार कारोबारमा आएका मध्य १७१ कम्पनीको मूल्य बढेको छ भने ९१ को मूल्य घटेको छ त्यस्तै १५ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।