मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?: हिसान
महासचिव सिलवालले निजी शैक्षिक संस्थाहरूलाई एउटै मापदण्डमा राखेर नियमन गर्नुभन्दा विद्यार्थी संख्या, लगानीको प्रकृति र संस्थाको अवस्थाअनुसार वर्गीकरण गर्नुपर्नेमा जोड दिए ।
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान०का महासचिव रामहरी सिलवालले मुलुकको समग्र शिक्षा क्षेत्रमा निजी क्षेत्रले करिव ४१ प्रतिशत भार वहन गरिरहेको भन्दै सरकारले निजी क्षेत्रको लगानी सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । आईतबार ललितपुरमा आयोजित ‘शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाको सवाल’ विषयक वृहत शैक्षिक बहस कार्यक्रममा बोल्दै महासचिव सिलवालले यस्तो माग गरेका हुन् । उनले सरकारले शिक्षा क्षेत्रमा विदेशी लगानीकर्ता र स्वदेशी लगानीकर्ताबीच विभेद गर्ने गरेको आरोप पनि लगाए । विदेशी लगानीको क्षतिपूर्ति सुनिश्चित गर्ने तर स्वदेशी लगानीको सुरक्षामा पर्याप्त ध्यान नदिने प्रवृत्तिप्रति उनको असन्तुष्टि छ । महासचिव सिलवालले निजी शैक्षिक संस्थाहरूलाई एउटै मापदण्डमा राखेर नियमन गर्नुभन्दा विद्यार्थी संख्या, लगानीको प्रकृति र संस्थाको अवस्थाअनुसार वर्गीकरण गर्नुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रले शिक्षा क्षेत्रमा गरेको लगानीलाई नाफामुखी व्यवसायका रूपमा मात्र नहेरी त्यसले मुलुकको शिक्षा क्षेत्रमा योगदान र लगानीकर्ताको भुमिकालाई ध्यान दिनुपर्नेमा जोड दिए । उनले नयाँ शिक्षा ऐनमा निजी शैक्षिक संस्थाको स्वायत्तता, दर्ता तथा सञ्चालन स्वीकृति र लगानी सुरक्षाको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । साथै, कर छुट, जग्गा प्राप्ति तथा खरिद, प्रयोगशाला, पुस्तकालय र सवारीसाधन खरिदमा सहुलियत उपलब्ध समेत उनको माग छ ।
स्थानीय तथा प्रदेश सरकारले जग्गा उपलब्ध गराउन सहयोग गरे शैक्षिक नवप्रर्तनमा ठूलो योगदान गर्न सक्ने दाबी छ ।