सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गर्छौंः मन्त्री यादव
उनले उद्योग, निर्माण, पर्यटन, कृषि, सूचना प्रविधि तथा सेवा क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता रहेको बताए ।
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले निजी क्षेत्रसंगको सहकार्यमा सरकारले सीपयुक्त जनशक्ति उत्पादन गर्ने बताएका छन् ।
आईतबार भक्तपुरमा एभरेष्ट मल्टिस्किल प्रा।लि।ले सञ्चालन गरेको सीपमुलक तालिम केन्द्रको उद्घाटन गर्दै उनले बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गरि रोजगारीसँग जोड्ने बताएका हुन् । सीपयुक्त जनशक्ति नहुँदा हाल युवाले रोजगारी र रोजगारदाताले दक्ष जनशक्ति पाउन नसकेको उनले बताए । उनले उद्योग, निर्माण, पर्यटन, कृषि, सूचना प्रविधि तथा सेवा क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता रहेको बताए । उनले तालिम केन्द्रहरुमार्फत युवाहरुलाई सीप सिकाएर बजारको मागअनुसार रोजगारीसँग जोड्नुपर्नेमा जोड दिए । सीप विकासलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उनको भनाई छ । उनले रोजगारदाता तथा उद्योगी व्यवसायीलाई प्रशिक्षार्थीलाई व्यावहारिक अनुभव प्रदान गर्न र सीपयुक्त युवालाई रोजगारीमा जोड्न आग्रह गरे । तालिम केन्द्रको सफलता तालिम लिने व्यक्तिको संख्यामा मात्र सिमित नराखी तालिमपछि रोजगारी प्राप्त गर्ने, उद्यम सुरु गर्ने र आयआर्जनमा सुधार ल्याउने व्यक्तिको संख्याको आधारमा मूल्याङ्कन गर्नुपर्ने उनको भनाई छ ।
उनले मन्त्रालयले सीपयुुक्त जनशक्ति निर्माण गरी स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्नेतर्फ काम गरिरहेको बताए । साथै मन्त्रालयले वैदेशिक रोजगारीमा जाने युवालाई पनि दक्ष, सुरक्षित तथा मर्यादित श्रमिकका रूपमा पठाउने उल्लेख गरे । उनले हालै शुभारम्भ गरिएको प्रशिक्षण केन्द्रले गुणस्तरीय तालिममार्फत दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना र स्थानीय आर्थिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । साथै, युवालाई तालिममा सहभागी हुन र सीप विकासका अवसरको उपयोग गर्न प्रोत्साहित गर्न उहाँले सबै पक्षलाई आग्रह गरे । सीपयुक्त युवा, सम्मानित श्रम, सिर्जनशील उद्यम र समृद्ध नेपाल निर्माण साझा सङ्कल्प हुनुपर्ने उनको भनाई छ ।