विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे
उनले प्रशारण पूर्वाधार निर्माण गरेर नेपालमा नै आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिए ।
काठमाडौं । पूर्वसचिव तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का प्रमुख विज्ञ सल्लाहकार दिनेशकुमार घिमिरेले नेपालमा उत्पादित विद्युत आन्तरिक खपतमा नै जोड दिनुपर्ने बताएका छन् । इप्पान र क्यानडा फर लोकल इनिसिएटिभले आयोजना गरेको नेपालको हरित भविष्य निर्माणसम्बन्धी नियमित ‘फ्राइडे फोरम’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले अन्तरदेशिय विद्युत निर्यातको भर परेर मात्रै विद्युत उत्पादन गर्न जोड दिन नहुने बताए । उनले तत्कालको लागी भने भारत र बंगलादेशमा विद्युत निर्यात बाध्यता रहेको बताए । दीर्घकालिन रुपमा भने विद्युत निर्यातको भर पर्न नहुने उनको भनाई छ । उनले प्रशारण पूर्वाधार निर्माण गरेर नेपालमा नै आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिए । नेपालको आन्तरिक खपतको लागी हालको विद्युत माग वास्तविक सम्भावनाभन्दा कम रहेको उनको भनाई छ ।
उनले प्रसारण पूर्वाधार, औद्योगिक करिडोर र अन्य विद्युत् खपत बढाउने संरचना निर्माण हुन नसक्दा माग खुम्चिएको बताए । उनले विद्युत् खपत बढाउन विद्युतीय यातायात, सार्वजनिक यातायातको विद्युतीकरण तथा घरायसी खाना पकाउने र ताप उत्पादनका लागि विद्युत्को प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए । यसबाट उत्पादित विद्युत देशभित्रै खपत गर्न सकिने उनको भनाइ छ ।
उनले जलाशाययुक्त आयोजना र सौर्य ऊर्जाको विकासमा ध्यान दिन आवश्यक रहेको पनि उल्लेख गरे । तत्कालीन प्राथमिकताका रूपमा ठूला क्षमताका सौर्य विद्युत् आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) को विकासलाई अघि बढाउनुपर्ने उनको भनाई छ । जलाशययुक्त आयोजना निर्माण गर्न लामो समय लाग्ने भएकाले त्यसको अध्ययन तथा कार्यान्वयनसँगै सौर्य ऊर्जाको उत्पादन शीघ्र विस्तार गर्नुपर्ने उनले बताए । उनकाअनुसार सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीले विद्युत आपूर्तिमा हुने उतारचढाव व्यवस्थापन गर्न सहज हुनेछ । उनले वर्षायाममा उत्पादन हुने विद्युत व्यवस्थापन गर्न भने सीमापार विद्युत व्यापारको बजार विस्तार आवश्यक रहेको बताए ।