बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा 'फ्लड लाइन’भन्दा तल बस्न नदिन सरकारलाई सशस्त्र प्रहरी बलको सुझाव
एसएसपी कर्णजितले हालैका बाढी-पहिरोका घटनाले बस्तीहरू नै उच्च जोखिममा रहेको पुष्टि गरेको उल्लेख गर्दै दीर्घकालीन पुनस्र्थापनाका लागि ‘फ्लड लाइन’ को अवधारणा कडाइका साथ लागू गर्नुपर्ने बताए ।
काठमाडौं । सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) रविनराज कर्णजितले बाढी र पहिरो प्रभावित बस्तीहरूको पुनर्निर्माण गर्दा ‘फ्लड लाइन’ भन्दा तलको क्षेत्रमा बसोवास गर्न नदिने गरी नीतिगत निर्णय लिन सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले यस्तो सुझाव दिएका हुन् । उनले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न जग्गा सट्टापट्टाको व्यवस्था गर्नुपर्ने र नदी करिडोरमा आधारित पूर्वाधारको विकल्प खोज्नुपर्नेमा जोड दिए । एसएसपी कर्णजितले हालैका बाढी-पहिरोका घटनाले बस्तीहरू नै उच्च जोखिममा रहेको पुष्टि गरेको उल्लेख गर्दै दीर्घकालीन पुनस्र्थापनाका लागि ‘फ्लड लाइन’ को अवधारणा कडाइका साथ लागू गर्नुपर्ने बताए । उनले निजी जग्गा जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सरकारी वा ऐलानी जग्गा उपलब्ध गराई लालपुर्जासहितको सट्टापट्टा गर्ने नीति ल्याएमा पुनस्र्थापना कार्य प्रभावकारी हुने उल्लेख गरे । पूर्वाधारको हकमा उनले तत्कालका लागि राहत र पुनर्जीवन दिन पुरानै स्थानमा काम गर्नुपर्ने भएपनि दीर्घकालीन पुनर्निर्माणमा रिभर करिडोरको सट्टा उच्च भाग वा माउन्टेन रिजबाट सडक सञ्जाल विस्तार गर्नुपर्ने सुझाव दिए । छलफलका क्रममा उनले पूर्वसूचना प्रणालीलाई थप बलियो र आधुनिक बनाउनुपर्ने औंल्याए । हाल प्रचलनमा रहेको एसएमएस सूचना प्रणाली प्रभावकारी नभएको जिकिर गर्दै उनले सेल ब्रोडकास्टिङ सिस्टम अपनाउन सुझाव दिए ।
उनले रसुवाका केही पालिकासहित देशभरका सडक सञ्जाल पूर्ण रूपमा विच्छेद हुँदा राहत कार्यमा कठिनाइ भएको स्मरण गराउँदै मेगा डिजास्टरलाई मध्यनजर गरेर बहु-तहको पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।