घटस्थापनादेखि फूलपातीसम्म उपत्यकाका ५ ठाउँबाट जुनसुकै ब्रान्डको ग्यास सिलिन्डर साट्न पाइने
तर, एक व्यक्तिले एकवटा मात्रै सिलिन्डर साट्न पाउनेछन्। सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।
काठमाडौं । चाडपर्वका बेला काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन पाइने व्यवस्था लागू हुने भएको छ। यस व्यवस्थाअन्तर्गत उपभोक्ताले आफूसँग भएको खाली सिलिन्डर बुझाएर कुनै अतिरिक्त शुल्क नतिरी अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन् ।
नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको छलफलपछि घटस्थापनादेखि फूलपातीसम्म यस्तो सुविधा उपलब्ध गराउने सहमति भएको हो । चाडपर्वको समयमा ग्यासको माग बढ्ने र उपभोक्ताले आफूले प्रयोग गर्ने ब्रान्डकै सिलिन्डर नपाउँदा समस्या हुन सक्ने भएकाले सिलिन्डर साटफेरको व्यवस्था गर्न लागिएको हो ।
यस व्यवस्थाअन्तर्गत काठमाडौँ उपत्यकामा बजारीकरण हुने जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर उपलब्ध रहेको अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सकिनेछ । तर, एक व्यक्तिले एकवटा मात्रै सिलिन्डर साट्न पाउनेछन्। सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार उपत्यकाका विभिन्न छ स्थानबाट यस्तो सुविधा उपलब्ध गराइनेछ । बालाजुस्थित नेपाल ग्यासको उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट सिलिन्डर साट्न सकिनेछ ।
संघका अनुसार यो सुविधा घटस्थापनादेखि फूलपातीसम्मका लागि उपलब्ध गराउने तयारी गरिएको छ। यस अवधिमा उपभोक्ताले आफूले प्रयोग गरिरहेको ब्रान्डको ग्यास नपाए पनि उपलब्ध अर्को ब्रान्डको सिलिन्डर लिएर खाना पकाउने ग्यासको आवश्यकता पूरा गर्न सक्नेछन् ।
सिलिन्डरको दुरुपयोग रोक्न र वास्तविक उपभोक्ताले मात्रै सुविधा पाउने व्यवस्था सुनिश्चित गर्न सेवा लिन आउने व्यक्तिको पहिचान खुल्ने विवरण र मोबाइल नम्बर अभिलेखमा राखिनेछ । डिलर तथा अन्य व्यापारीले सुविधा दुरुपयोग नगरून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो ।
सिलिन्डर साटफेरको यो व्यवस्थाले चाडपर्वका बेला ग्यासको आपूर्तिमा हुन सक्ने असहजता कम गर्नुका साथै उपभोक्तालाई आफूले प्रयोग गर्ने ब्रान्ड उपलब्ध नभए पनि अर्को ब्रान्डको ग्यास प्रयोग गर्न सहज हुने अपेक्षा गरिएको छ ।