नबिल बैंकको ४२औँ साधारणसभा सम्पन्न, १५.८० प्रतिशत लाभांश पारित

सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ ।

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको ४२औँ वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभाले सञ्चालक समितिको सिफारिस तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि प्रस्ताव गरिएको लाभांश पारित गरेको हो । सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ ।

५ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुग्नेछ । बैंकले आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप ६९ अर्ब ६७ करोड रुपैयाँ अर्थात् १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा तथा सापटी ५१ अर्ब ६८ करोड रुपैयाँ अर्थात् १२.१५ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

बैंकको कुल वासलात पनि १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

बैंकका अनुसार स्थापना हुँदाको चुक्ता पुँजीको तुलनामा हाल चुक्ता पुँजी ९६० गुणाले वृद्धि भएको छ । बैंकले हाल देशभर २६२ शाखा र ३१६ एटीएममार्फत सेवा दिइरहेको छ भने ग्राहक संख्या २८ लाखभन्दा बढी रहेको जनाएको छ ।