आर्थिक स्वतन्त्रताको विश्व वरियतामा नेपाल ९०औँ स्थानमा, कानुनी व्यवस्था र सम्पत्तिको अधिकार कमजोर
कानुनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षामा नेपाल ९६औँ स्थानमा छ । अघिल्लो वर्ष ९१औँ स्थानमा रहेको नेपाल यस क्षेत्रमा पाँच स्थान तल झरेको हो । यस सूचकमा नेपालको अंक ४.८२ रहेको छ ।
काठमाडौं । विश्व आर्थिक स्वतन्त्रताको वरियतामा नेपाल एक स्थान तल झरेको छ । क्यानडाको फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको ‘इकोनोमिक फ्रिडम अफ द वर्ल्ड २०२६’ प्रतिवेदनअनुसार नेपाल १६५ देशमध्ये ९०औँ स्थानमा रहेको छ ।
अघिल्लो वर्ष नेपाल ८९औँ स्थानमा थियो । यद्यपि, वरियतामा एक स्थान तल झरे पनि नेपालको समग्र प्राप्तांकमा भने झिनो सुधार भएको छ । प्रतिवेदनअनुसार नेपालले १० पूर्णांकमा ६.५९ अंक प्राप्त गरेको छ । सन् २०२५ को प्रतिवेदनमा नेपालको अंक ६.५८ थियो ।
समृद्धि फाउन्डेशनले नेपालमा यो प्रतिवेदन सार्वजनिक गर्न थालेको १९औँ वर्ष हो । प्रतिवेदनले कोभिड–१९ महामारीका कारण खस्किएको नेपालको आर्थिक स्वतन्त्रताको स्तर महामारीपूर्वको अवस्थामा फर्किएको देखाएको छ । सन् २०१९ मा नेपालको अंक ६.५२ रहेकोमा कोभिड–१९ का कारण सन् २०२० मा घटेर ६.३१ मा पुगेको थियो ।
नेपालका पाँच प्रमुख सूचकमा सबैभन्दा राम्रो अवस्था सरकारको आकारमा देखिएको छ । यस क्षेत्रमा नेपाल ५१औँ स्थानमा छ । अघिल्लो प्रतिवेदनमा ४९औँ स्थानमा रहेको नेपाल यसपटक दुई स्थान तल झरेको हो । यस सूचकमा नेपालको अंक ७.२५ रहेको छ ।
कानुनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षामा नेपाल ९६औँ स्थानमा छ । अघिल्लो वर्ष ९१औँ स्थानमा रहेको नेपाल यस क्षेत्रमा पाँच स्थान तल झरेको हो । यस सूचकमा नेपालको अंक ४.८२ रहेको छ ।
स्वस्थ मुद्रामा पहुँचतर्फ नेपाल १०१औँ स्थानमा छ । अघिल्लो वर्ष ९६औँ स्थानमा रहेको नेपाल यसपटक पाँच स्थान तल झरेको हो । यस क्षेत्रमा नेपालको अंक ७.५७ रहेको छ ।
अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा भने नेपालको अवस्था सुधारिएको छ । अघिल्लो वर्ष १२६औँ स्थानमा रहेको नेपाल यसपटक ११७औँ स्थानमा उक्लिएको छ । यस क्षेत्रमा नेपालको अंक ६.३९ रहेको छ ।
नियमनतर्फ भने नेपाल ३७औँ स्थानबाट घटेर ५०औँ स्थानमा पुगेको छ । यस क्षेत्रमा नेपालको अंक ६.९० रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार आर्थिक स्वतन्त्रताको उच्च स्तर भएका देशमा प्रतिव्यक्ति आय र औसत आयु पनि बढी देखिन्छ । आर्थिक स्वतन्त्रताको उच्च चतुर्थांशमा रहेका देशमा सन् २०२४ को औसत प्रतिव्यक्ति आय ६५ हजार ५९६ अमेरिकी डलर रहेको थियो भने तल्लो चतुर्थांशमा रहेका देशमा यस्तो आय ९ हजार ५५२ डलर थियो । त्यस्तै, उच्च चतुर्थांशका देशको औसत आयु ८०.७ वर्ष र तल्लो चतुर्थांशका देशको ६७.१ वर्ष रहेको प्रतिवेदनले जनाएको छ ।
विश्व वरियतामा हङकङ पहिलो स्थानमा रहेको छ । त्यसपछि स्विट्जरल्यान्ड, सिंगापुर, न्युजिल्यान्ड र अमेरिका क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन् । जापान १३औँ, जर्मनी १९औँ, फ्रान्स ३९औँ, भारत ८८औँ, चीन ११०औँ र रुस १४३औँ स्थानमा छन् ।
सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएका देशको सूचीमा भेनेजुएला अन्तिम स्थानमा छ । त्यसअघि जिम्बाब्वे, सुडान, लिबिया, म्यानमार, इरान, अल्जेरिया, मलावी, इजिप्ट र प्रजातान्त्रिक गणतन्त्र कंगो रहेका छन् ।
फ्रेजर इन्स्टिच्युटले सन् १९९६ देखि ‘इकोनोमिक फ्रिडम अफ द वर्ल्ड’ प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । आर्थिक स्वतन्त्रताको सूचकांकले देशका नीति तथा संस्थाले व्यक्तिगत छनोट, स्वैच्छिक विनिमय, खुला बजार, सम्पत्तिको अधिकार र कानुनी सुरक्षालगायत आर्थिक स्वतन्त्रतालाई कति समर्थन गर्छन् भन्ने मापन गर्छ ।