नेप्सेको सीईओका लागि ४ जना सर्टलिस्ट, असोज २३ मा प्रस्तुतीकरण र अन्तर्वार्ता

सर्टलिस्टमा परेका उम्मेदवारको दोस्रो चरणको मूल्याङ्कनअन्तर्गत नेतृत्व क्षमता, कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी २०८३ असोज २३ गते अर्थ मन्त्रालयमा हुने भएको छ ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि चार जना उम्मेदवार सर्टलिस्टमा परेका छन् । अर्थ मन्त्रालयअन्तर्गत गठित प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट आवेदन दिएका आठ जना उम्मेदवारमध्ये चार जनालाई सर्टलिस्ट गरेको हो ।

समितिले सिफारिससम्बन्धी कार्यविधिको दफा ६.२ बमोजिम अनिल राज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा र प्रताप सुवेदीलाई सर्टलिस्ट गरेको जनाएको छ । नेप्सेको सीईओ नियुक्तिका लागि २०८३ साउन १२ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएको थियो ।

सर्टलिस्टमा परेका उम्मेदवारको दोस्रो चरणको मूल्याङ्कनअन्तर्गत नेतृत्व क्षमता, कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी २०८३ असोज २३ गते अर्थ मन्त्रालयमा हुने भएको छ ।

निर्धारित कार्यतालिकाअनुसार अनिल राज पौडेलको बिहान ७ बजे र नवराज सापकोटाको बिहान ८ बजे प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ । त्यस्तै, नारायण प्रसाद सापकोटाको साँझ ५ः३० बजे र प्रताप सुवेदीको साँझ ६ः३० बजे प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने समितिले जनाएको छ ।

समितिले सर्टलिस्टमा परेका सबै उम्मेदवारलाई तोकिएको समयभन्दा ३० मिनेट अगावै अन्तर्वार्ता स्थलमा उपस्थित हुन सूचित गरेको छ । दोस्रो चरणको मूल्याङ्कनपछि समितिले नेप्सेको सीईओ पदका लागि उपयुक्त उम्मेदवार सिफारिस गर्नेछ ।