बजारमा चलनचल्तीको मुद्रा घट्यो, राष्ट्र बैंकको वासलात ४० खर्ब नाघ्यो

नेपाल राष्ट्र बैंकको भदौ मसान्तसम्मको वित्तीय विवरणअनुसार बजारमा रहेको ‘करेन्सी इन सर्कुलेसन’ ८ खर्ब रुपैयाँभन्दा तल झरेर ७ खर्ब ९४ अर्ब २ करोड रुपैयाँमा सीमित भएको छ ।

काठमाडौं । बजारमा चलनचल्तीमा रहेको मुद्रा आपूर्ति पछिल्लो दुई महिनामा घटेको छ । नेपाल राष्ट्र बैंकको भदौ मसान्तसम्मको वित्तीय विवरणअनुसार बजारमा रहेको ‘करेन्सी इन सर्कुलेसन’ ८ खर्ब रुपैयाँभन्दा तल झरेर ७ खर्ब ९४ अर्ब २ करोड रुपैयाँमा सीमित भएको छ । गत असार मसान्तमा बजारमा चलनचल्तीको मुद्रा ८ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो । यस हिसाबले दुई महिनाको अवधिमा यस्तो मुद्रा ७ अर्ब ६० करोड रुपैयाँभन्दा बढीले घटेको देखिन्छ ।

यता नेपाल राष्ट्र बैंकको कुल वासलात भने उल्लेख्य रूपमा विस्तार भएको छ । असार मसान्तमा ३८ खर्ब ७४ अर्ब ९८ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकको कुल सम्पत्ति तथा दायित्व भदौ मसान्तसम्म बढेर ४० खर्ब ४४ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । दुई महिनामै राष्ट्र बैंकको वासलात १ खर्ब ६९ अर्ब ९ करोड रुपैयाँले बढेको हो । विदेशी सम्पत्तिमा भएको वृद्धि तथा सरकारी खातामा रहेको निक्षेप बढ्नु यसको प्रमुख कारण देखिएको छ ।

राष्ट्र बैंकको विवरणअनुसार यस अवधिमा विदेशी मुद्रा सम्पत्ति पनि बढेको छ । असार मसान्तमा ३७ खर्ब ३० अर्ब रुपैयाँ रहेको यस्तो सम्पत्ति भदौ मसान्तसम्म ३८ खर्ब ९९ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । विदेशी मुद्रा सम्पत्तिअन्तर्गत विदेशी धितोपत्रमा २७ खर्ब ४३ अर्ब ३३ करोड रुपैयाँ लगानी रहेको छ । त्यस्तै, विदेशी बैंकको मुद्दती निक्षेपमा ६ खर्ब ३९ अर्ब ७४ करोड रुपैयाँ र सुनको प्रमाणपत्रमा २ खर्ब ५३ अर्ब ९७ करोड रुपैयाँ लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी बैंकमा रहेको नगद मौज्दात भने केही घटेर २ खर्ब ४४ अर्ब ३० करोड रुपैयाँमा आएको छ । राष्ट्र बैंकको स्वदेशी मुद्रा सम्पत्ति १ खर्ब ४४ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

दायित्वतर्फ सरकारी निक्षेपमा उल्लेख्य वृद्धि भएको छ । असार मसान्तमा १ खर्ब ८६ अर्ब रुपैयाँ रहेको सरकारी खाताको निक्षेप भदौ मसान्तसम्म ३ खर्ब १ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित राष्ट्र बैंकको दायित्व पनि बढेको छ । असार मसान्तमा १२ खर्ब ७७ अर्ब रुपैयाँ रहेको यस्तो दायित्व भदौ मसान्तसम्म बढेर १३ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ ।

यसैगरी वित्तीय संस्थाहरूले केन्द्रीय बैंकमा राखेको निक्षेप ३ खर्ब ४६ अर्ब रुपैयाँमा झरेको छ । राष्ट्र बैंकको जगेडा कोष भने बढेर ११ खर्ब १० अर्ब २० करोड रुपैयाँ पुगेको छ ।