नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने लिक्विडेसनमा गइसक्थ्यो: पर्यटनमन्त्री पौडेल
मन्त्री पौडेलले नेपाल एयरलाइन्स नाफा कमाउने मात्र संस्था नभई राष्ट्रिय गौरव र ध्वजावाहक भएको उल्लेख गर्दै यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको बताए ।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल एयरलाइन्स कर्पोरेसनको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यदि यो कुनै निजी कम्पनी हुन्थ्यो भने हालसम्म लिक्विडेसन (समापन) मा गइसक्ने अवस्था रहेको बताएका हुन् । मन्त्री पौडेलले नेपाल एयरलाइन्स नाफा कमाउने मात्र संस्था नभई राष्ट्रिय गौरव र ध्वजावाहक भएको उल्लेख गर्दै यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको बताए । उनले एयरलाइन्सको विद्यमान समस्या समाधानका लागि सार्वजनिक-निजी साझेदारी (एएए) मोडलमा जानुपर्ने सरकारको नीति रहेको स्पष्ट पारे । विगतमा कोभिड-१९ को समयमा ब्याजलाई पुँजीकरण (क्यापिटलाइजेसन) गरिएको विषयलाई उनले ‘मिटरब्याज’ सरहको व्यवहार भएको टिप्पणी गरे ।
संस्थानको व्यवस्थापकीय कमजोरी औंल्याउँदै मन्त्री पौडेलले जनशक्ति योजना, मार्केटिङ र परिचालन रणनीतिसमेत नभएको उल्लेख गरे । वाइडबडी जहाजहरूको ओभरहल र मेन्टेनेन्सका लागि आवश्यक पर्ने अर्बौंको बजेट व्यवस्थापन गर्न नसक्नुले एयरलाइन्सको वित्तीय क्षमता कमजोर रहेको स्पष्ट हुन्छ ।
पर्यटन प्रवद्र्धन र राष्ट्रिय आत्मविश्वासका लागि एयरलाइन्सको भुमिका महत्वपूर्ण रहेको बताउँदै उनले सरकार यसको पुनरुत्थानका लागि प्रतिवद्ध रहेको बताए । मन्त्री पौडेलले समितिले अगाडि बढाएको छलफलले राष्ट्रिय ध्वजावाहकलाई जोगाउन ठोस मार्गचित्र कोर्ने विश्वास व्यक्त गरे ।