नेप्सेको प्रविधिमा निजी कम्पनीको नियन्त्रणबारे लगानीकर्ता श्रेष्ठको प्रश्न

पुँजीबजारको डाटामा एकाधिकार कायम रहन हुँदैन । सेबोनले यस विषयमा अध्ययन गर्नुपर्छ । श्रेष्ठकाअनुसार एपीआईमा सहज पहुँच उपलब्ध गराएर धेरै प्रविधि कम्पनीलाई प्रतिष्पर्धा गर्न दिने हो भने नेपाली पुँजी बजारको प्रविधि पूर्वाधार थप विकसित हुनसक्छ ।

काठमाडौं । स्वतन्त्र लगानीकर्ता अजय श्रेष्ठले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को स्वामित्वमा रहेको नेपाल अनलाइन ट्रेडिङ सिस्टममा निजी कम्पनीको नियन्त्रणमा रहेको बताएका छन् ।  बुधबारको अर्थसमिति बैठकमा टे्रडिङ निजी कम्पनीको नियन्त्रणमा रहेकोप्रति प्रश्न उठाउँदै पुँजीबजारको प्रविधि विकासका लागि खुला प्रतिष्पर्धा र ‘फ्री एपीआई एक्सेस’ को व्यवस्था गर्न माग गरे ।

श्रेष्ठले नेप्सेको स्वामित्वमा रहेको प्रविधि प्रणालीमा निजी कम्पनीको नियन्त्रण हुनु उपयुक्त नभएको बताउँदै नेपालमा प्रविधि कम्पनी, डेभलपर र दक्ष जनशक्ति पर्याप्त रहेकाले उनीहरूलाई पुँजीबजारको प्रविधि विकासमा सहभागी हुने अवसर दिनुपर्नेमा जोड दिए । श्रेष्ठकाअनुसार डाटामा रहेको पहुँच र एपीआई एक्सेसलाई सीमित गर्दा प्रविधिको विकासमा अवरोध पुग्छ ।

पुँजीबजारको डाटामा एकाधिकार कायम रहन हुँदैन । सेबोनले यस विषयमा अध्ययन गर्नुपर्छ । श्रेष्ठकाअनुसार एपीआईमा सहज पहुँच उपलब्ध गराएर धेरै प्रविधि कम्पनीलाई प्रतिष्पर्धा गर्न दिने हो भने नेपाली पुँजी बजारको प्रविधि पूर्वाधार थप विकसित हुनसक्छ ।श्रेष्ठले ट्रेड म्यानेजमेन्ट सिस्टम सञ्चालन गर्ने कम्पनीहरूको स्वामित्व संरचनामाथि समेत प्रश्न उठाएका छन् । टीएमएस सञ्चालन गर्ने कम्पनीका शेयरधनी नै स्टक ब्रोकरसम्बद्ध रहेको अवस्थामा स्वार्थको द्वन्द्व उत्पन्न हुनसक्ने भन्दै उनले त्यसको नियमन तथा स्वामित्व परीक्षण गर्नुपर्ने बताए ।

उनकाअनुसार आफैँ शेयर होल्डर, आफैँ कन्ज्युमर हुँदा टेक्नोलोजीको डेभलपमेन्ट हुँदैन । टीएमएसमा खुला प्रतिस्पर्धाको वातावरण आवश्यक छ । टीएमएस कम्पनीको स्वामित्व संरचना जाँच गरी सम्भावित स्वार्थको द्वन्द्व व्यवस्थापन गर्न सेबोनलाई श्रेष्ठले आग्रह गरे । उनले नेप्सेले आफ्नै सहायक कम्पनीमार्फत प्रविधि विकास गर्न सक्ने विकल्पसमेत अघि सारे । उद्यमीको मेहनत र व्यवसाय निर्माणमा योगदानको मूल्यलाई ‘स्वेट इक्विटी भ्यालु’का रूपमा समेत हेर्नुपर्ने उनको भनाइ छ । उद्यमशीलताको विकासबिना उद्योग तथा रोजगारी सिर्जना कठिन हुने भन्दै श्रेष्ठले पुँजी बजारमार्फत पुँजी संकलन गरी मुलुकको पुँजी निर्माणमा योगदान पुर्‍याउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।