ब्रोकर कम्पनीलाई चार श्रेणीमा वर्गीकरण गर्दै सेबोनले ल्यायो नयाँ नीति

अर्थ मन्त्रालयको पुँजी बजार पुनरुत्थान कार्ययोजनाको आधारमा तयार गरिएको नीतिले ब्रोकर व्यवसायलाई व्यक्ति–केन्द्रित व्यवस्थापनबाट व्यावसायिक तथा संस्थागत संरचनामा लैजाने व्यवस्था गरेको छ ।

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारका मध्यस्थकर्ता ब्रोकर कम्पनीहरूको वित्तीय, संस्थागत तथा प्रविधिगत क्षमता सुदृढ बनाउन ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

सेयर खरिद–बिक्रीको आदेश कार्यान्वयनमा मात्र सीमित ब्रोकर व्यवसायलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार बहुआयामिक वित्तीय सेवा प्रदान गर्न सक्षम बनाउने लक्ष्यसहित बोर्डले नयाँ नीति ल्याएको हो । अर्थ मन्त्रालयको पुँजी बजार पुनरुत्थान कार्ययोजनाको आधारमा तयार गरिएको नीतिले ब्रोकर व्यवसायलाई व्यक्ति–केन्द्रित व्यवस्थापनबाट व्यावसायिक तथा संस्थागत संरचनामा लैजाने व्यवस्था गरेको छ ।

नयाँ नीतिअनुसार ब्रोकर कम्पनीलाई पुँजी, जोखिम वहन क्षमता, संस्थागत पूर्वाधार र सेवाको विविधीकरणका आधारमा चार श्रेणीमा वर्गीकरण गरिनेछ । ‘क’ श्रेणीमा धितोपत्र व्यापारी (स्टक डिलर), ‘ख’ श्रेणीमा पूर्ण सेवा धितोपत्र दलाल (फुल सर्भिस स्टक ब्रोकर), ‘ग’ श्रेणीमा कारोबारमुखी धितोपत्र दलाल (ट्रेडिङ स्टक ब्रोकर) र ‘घ’ श्रेणीमा ऋणपत्र, संस्थागत सेवा तथा बजार निर्माणमा केन्द्रित विशिष्टीकृत धितोपत्र दलाल रहनेछन् ।

‘ग’ श्रेणीका ब्रोकर मुख्यतः ग्राहकको आदेश कार्यान्वयनमा केन्द्रित हुनेछन् भने ‘क’ र ‘ख’ श्रेणीका ब्रोकरले डिलरसिप, लगानी परामर्श, सेयर अनुसन्धान, पोर्टफोलियो व्यवस्थापन, अन्डरराइटिङ तथा संस्थागत ग्राहक सेवा दिन सक्नेछन् । तोकिएका वित्तीय, प्रविधिगत, जोखिम व्यवस्थापन तथा कार्यसम्पादनका मापदण्ड पूरा गर्ने ब्रोकर माथिल्लो श्रेणीमा स्तरोन्नति हुन सक्नेछन् ।

इन्ट्रा–डे र सर्ट सेलिङका लागि छुट्टै स्वीकृति

नयाँ नीतिले दोस्रो बजारमा मार्जिन ऋण, धितोपत्र सापटी तथा उधारो (एसएलबी), सर्ट सेलिङ, इन्ट्रा–डे कारोबार र बजार निर्माता (मार्केट मेकर) जस्ता सेवा सञ्चालनको बाटो खोलेको छ । तर यस्ता उच्च जोखिमयुक्त गतिविधि सञ्चालन गर्न ब्रोकरले आवश्यक पूर्वाधार र जोखिम व्यवस्थापन क्षमता प्रमाणित गरी बोर्डबाट छुट्टाछुट्टै स्वीकृति लिनुपर्नेछ ।

इन्ट्रा–डे कारोबारका लागि जोखिम नियन्त्रण, नोक्सानीको सीमा तथा कारोबार समय सकिएपछि स्वचालित रूपमा सेयर मिलान हुने ‘अटो स्क्वायर–अफ’ प्रणाली अनिवार्य गरिनेछ । सर्ट सेलिङमा सेयर उधारोको सुनिश्चितता, सर्ट पोजिसनको सीमा तथा ‘सर्ट स्क्विज’ जोखिम व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थासँग सहकार्यमा हुने मार्जिन फाइनान्सिङमा त्रिपक्षीय सम्झौता, गतिशील हेयरकट, बजार मूल्यअनुसारको मार्जिन कल तथा डिफल्ट व्यवस्थापनको स्पष्ट कार्यविधि लागू हुनेछ ।

चुक्ता पुँजीसँगै जोखिमअनुसार पुँजी

ब्रोकर कम्पनीको क्षमता मूल्यांकनमा न्यूनतम चुक्ता पुँजीलाई मात्र आधार नबनाई जोखिममा आधारित पुँजी पर्याप्तता (आरबीसीए) प्रणाली लागू गरिनेछ । नियामक पुँजीलाई प्राथमिक (टियर–१) र पूरक (टियर–२) पुँजीमा विभाजन गरिनेछ ।

मार्जिन लगानी, इन्ट्रा–डे तथा सर्ट सेलिङजस्ता गतिविधि सञ्चालन गर्ने ब्रोकरले आधारभूत पुँजीका अतिरिक्त गतिविधि–विशेष पुँजी र तरलता बफर कायम गर्नुपर्नेछ । कुल जोखिम एक्सपोजर, ग्राहक तथा कारोबारको एकाग्रता, ठूला ग्राहक र सम्बद्ध पक्षबीचको कारोबारमा समेत सीमा तोकिनेछ ।

पुँजी पर्याप्तता तोकिएको सीमाभन्दा तल झरे लाभांश वितरणमा रोक लगाउनुका साथै ब्रोकरले बोर्डसमक्ष पुँजी पुनर्बहाली योजना पेश गर्नुपर्नेछ । प्रणालीगत रूपमा ठूला ब्रोकरले बजारमा तीव्र गिरावट, साइबर आक्रमण तथा तरलता अभावजस्ता अवस्थालाई ध्यानमा राखी नियमित स्ट्रेस टेस्ट गर्नुपर्नेछ ।

परिवार वा व्यक्तिको नियन्त्रणमा कडाइ

ब्रोकर व्यवसायमा एक व्यक्ति, परिवार वा समूहको अत्यधिक नियन्त्रण रोक्न प्रमुख सेयरधनीको सीमा, क्रस–ओनरसिप तथा अप्रत्यक्ष स्वामित्वमा कडाइ गरिनेछ । वास्तविक सेयरधनीको पहिचान खुलाउनुपर्ने तथा स्वामित्व वा नियन्त्रण परिवर्तन गर्दा बोर्डको पूर्वस्वीकृति लिनुपर्नेछ ।

त्यस्तै, ब्रोकर कम्पनीको सञ्चालक समितिमा विषयगत विज्ञता भएका व्यक्ति तथा स्वतन्त्र सञ्चालकको व्यवस्था गरिनेछ । लेखापरीक्षण, जोखिम व्यवस्थापन, मनोनयन तथा पारिश्रमिक र सूचना प्रविधि अनुगमनका लागि छुट्टाछुट्टै विशेष समिति गठन गर्नुपर्नेछ ।

ग्राहकको रकम र सेयर छुट्टै राख्नुपर्ने

नयाँ नीतिले लगानीकर्ता संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ । ब्रोकरले ग्राहकको रकम र सेयरलाई आफ्नै सम्पत्तिबाट पूर्ण रूपमा अलग राख्नुपर्नेछ । यसका लागि छुट्टै क्लाइन्ट फन्ड एकाउन्ट र क्लाइन्ट सेक्युरिटिज एकाउन्ट सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

ब्रोकर समस्याग्रस्त भएमा समेत ग्राहकको सम्पत्तिलाई ऋणदाताको दाबीभन्दा प्राथमिकतामा राखेर संरक्षण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । साथै, लगानीकर्ता संरक्षण तथा क्षतिपूर्ति कोष स्थापना गर्ने व्यवस्था गरिएको छ ।

ग्राहकको पूर्वस्वीकृतिबिना कारोबार गर्न नपाइने, ग्राहकको आदेशलाई प्राथमिकता दिनुपर्ने तथा कारोबार र खाताको विवरण वास्तविक समयमै उपलब्ध गराउनुपर्ने व्यवस्था पनि नीतिमा समेटिएको छ ।

साइबर सुरक्षा र प्रविधिमा कडाइ

ब्रोकरले अर्डर म्यानेजमेन्ट सिस्टम (ओएमएस) र जोखिम व्यवस्थापन प्रणाली (आरएमएस) प्रयोग गर्दा आदेशको समय तथा अडिट ट्रेल सुरक्षित राख्नुपर्नेछ । स्वचालित तथा एल्गोरिथमिक ट्रेडिङ सञ्चालन गर्न बोर्डको स्वीकृति आवश्यक हुनेछ ।

प्राविधिक समस्या आए कारोबार रोक्न सक्ने ‘इमर्जेन्सी किल स्विच’, डिजिटल केवाईसी, मल्टि–फ्याक्टर अथेन्टिकेसन, सुरक्षित डाटा सेन्टर, विपद् पुनर्बहाली केन्द्र (डीआर साइट) तथा बिजनेस कन्टिन्युटी योजना अनिवार्य गरिनेछ ।

तीन चरणमा कार्यान्वयन

बोर्डले नीतिलाई तीन चरणमा कार्यान्वयन गर्ने जनाएको छ । पहिलो चरणमा ब्रोकर वर्गीकरण, पुँजी पर्याप्तता, ग्राहक सम्पत्ति पृथकीकरण, सुशासन तथा साइबर सुरक्षा मापदण्ड लागू गरिनेछ ।

दोस्रो चरणमा मार्जिन ऋण, सेयर सापटी, सर्ट सेलिङ, इन्ट्रा–डे कारोबार तथा बजार निर्माता सेवा विस्तार गरिनेछ । तेस्रो चरणमा एकीकृत मध्यस्थता प्रणाली विकास गर्दै रणनीतिक लगानी, लगानी अनुसन्धान, संस्थागत वित्तीय सेवा तथा उन्नत सुपरीवेक्षण प्रणाली स्थापना गर्ने योजना छ ।

हाल सञ्चालनमा रहेका ब्रोकरलाई नयाँ मापदण्डमा प्रवेश गर्न ग्याप एसेसमेन्ट र कम्प्लायन्स योजनासहित संक्रमणकालीन अवधि उपलब्ध गराइनेछ । नीतिको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नियमावली, निर्देशिका तथा अन्य मापदण्ड क्रमशः जारी गर्ने बोर्डले जनाएको छ ।