ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

असोज १२ गते बसेको संस्थाको सञ्चालक समिति बैठकले हाल कायम सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो ।

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई कुल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज १२ गते बसेको संस्थाको सञ्चालक समिति बैठकले हाल कायम सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावअनुसार संस्थाले ६ प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश वितरण गर्नेछ। हाल कायम चुक्ता पुँजी ६४ करोड ८२ लाख ९७ हजार ७९७ रुपैयाँ २२ पैसा रहेको संस्थाले जनाएको छ ।

६ प्रतिशत बोनस सेयरका लागि ३ करोड ८८ लाख ९७ हजार ८६७ रुपैयाँ ८३ पैसा बराबरको रकम छुट्याइएको छ । यस्तै, लाभांशमा लाग्ने करसमेत प्रयोजनका लागि ३.५० प्रतिशत अर्थात् २ करोड २६ लाख ९० हजार ४२२ रुपैयाँ ९० पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ । साधारण सभाबाट पारित भएपछि मात्रै उक्त लाभांश सेयरधनीलाई वितरण हुनेछ ।