टीभीएस एनटर्क १५० नेपालमा सार्वजनिक, मूल्य ३ लाख ६९ हजार ९ सय

एनटर्क १५० भारतमा सार्वजनिक भएको १ वर्षपछि नेपाली बजारमा आएको हो । प्रिमियम स्कुटर सेग्मेन्टमा रहेको एनटर्क १५० टीभीएसको हालसम्मकै सबैभन्दा शक्तिशाली र स्पोर्टी स्कुटर समेत हो ।

काठमाडौं । नेपाली बजारमा टीभीएसको पावरफुल प्रिमियम स्कुटर एनटर्क १५० सार्वजनिक भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजदेखि एनटर्क १५० को बिक्री सुरु गरेको हो । कम्पनीले यसको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको छ । हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा एनटर्क १५० को बुकिङ खुलाएको थियो ।

एनटर्क १५० भारतमा सार्वजनिक भएको १ वर्षपछि नेपाली बजारमा आएको हो । प्रिमियम स्कुटर सेग्मेन्टमा रहेको एनटर्क १५० टीभीएसको हालसम्मकै सबैभन्दा शक्तिशाली र स्पोर्टी स्कुटर समेत हो । एनटर्क १५० मा क्वाड मल्टिपोइन्ट प्रोजेक्टर एलईडी हेडल्याम्प, स्पोर्टी टेल ल्याम्प, स्टाइलिस फ्रन्ट कम्बिनेसन ल्याम्प, नेकेड ह्याण्डल बार, एरोडाइनामिक विङलेट, स्पोर्टी मफलर, सिंगल पीस सिट र स्प्लिट ग्र्याब रेलहरूको समिकरण सहितको नयाँ स्टेल्थ एयरक्राफ्ट इन्स्पायर्ड डिजाइन पाउन सकिन्छ ।एनटर्क १५० मा १४९.७ सीसी क्षमताको सिंगल सिलिण्डर, एयरकुल्ड, थ्री भल्ब, एफआई इन्जिन छ । यसले अधिकतम ७००० आरपीएममा १३.२ बीएचपी पावर तथा ५५०० आरपीएममा १.।२ एनएम टर्क जेनेरेट गर्छ । यो इन्जिन सीभीटी गियरबक्स र आइएसजी साइलेन्ट स्टार्ट प्रणालीसँग जोडिएको छ । टप स्पिड १०४ किलोमिटर प्रतिघण्टा रहेको टीभीएसको एनटर्क १५० स्कुटर निकै पावरफुल छ । यसले ० देखि ६० किलोमिटर प्रतिघण्टाको स्पिड ६.३ सेकेण्डमै पूरा गर्छ ।

स्कुटरमा सेग्मेन्ट पहिलो फुल डिजिटल टीएफटी क्लस्टर, नेभिगेसन असिस्ट, एलेक्सा इन्टिग्रेसन, स्मार्ट वाच इन्टिग्रेसन, म्युजिक कन्ट्रोल, अन्तिम पार्क लोकेसन, कल एसेप्ट रिजेक्ट, भेहिकल लाइभ ट्रयाकिङ र ओभर द एयर सर्भिस अपडेट सिस्टम पाइन्छ । यसको सिट मुनि ५.८ लिटरको इन्धन ट्यांकी राखिएको छ । साथै, २२ लिटरको अन्डर सीट स्टोरेज र फ्रन्टमा ग्लोभ बक्स पनि उपलब्ध छ । यसको ह्वीलबेस भने एनटर्क १२५ सरह नै छ ।