सेयर बजारमा ४३.८९ अंकको पहिरो, ३ अर्ब ६४ करोडको कारोबार
कारोबारमा आएको मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । भोटेकोशी बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका कम्पनीसहित समग्र सेयर बजारमा बिक्री चाप बढ्दा नेप्से परिसूचकमा गिरावट थप तीव्र बनेको छ।
सोमबार सेयर बजार परिसुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ६.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४१ अंक घटेको छ ।
नेप्से सँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहिबार ३ अर्ब ७८ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा आज ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
आज उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १३.१६ प्रतिशत बढेको छ । त्यस्तै, घोराही सिमेन्ट इण्डष्ट्रीको सेयरमूल्य साढे ७ प्रतिशत बढेको छ । कारोबारमा आएको मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीको सेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ३८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सर्वोत्तम पेन्ट्सको करिब १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये आज एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ ।
सोमबार कारोबारमा आएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
