निरन्तर पाँचौ कारोबार दिन घट्यो नेप्से, कारोबार ३ अर्ब ७८ करोडमा सीमित

विज्ञापन
ncell

कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य आज सर्वाधिक ९.४५ प्रतिशत घटेको छ ।

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । बिहीबार सेयर बजार परिसुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.०४ अंकले घटेर २५५७.३१ विन्दुमा बन्द भएको हो । सँगै नेप्से लगातार पाँचौँ कारोबार दिन घटेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंक घटेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार कारोबार रकमसमेत घटेर ३ अर्ब ७८ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ । 

सर्वोत्तम पेन्ट्सको सेयर निरन्तर ११ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । घोराही सिमेन्ट इण्डष्ट्रिको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य आज सर्वाधिक ९.४५ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोड ७५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल एसबिआई बैंकको साढे १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

बिहीबार १३ मध्ये आठ उपसमूहको सूचक बढेको छ भने पाँच उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह १।७५ प्रतिशतले बढेर सबैभन्दा अगाडि रह्यो । बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार उपसमूह पनि सामान्य बढेका छन्।

बिहिबार कारोबारमा आएकामध्ये १४६ कम्पनीको सेयर मूल्य बढ्दा ११८ कम्पनीको घटेको छ । यस्तै, १५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।