सेयर बजार घटिरहेका बेला धितोपत्र बोर्डको एकै पटक ६ निकायलाई निर्देशन
संस्थाअनुसार कसलाई कस्तो निर्देशन
धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन धितोपत्र बजार तथा धितोपत्र व्यवसायीहरूको कारोबारको नियमन तथा अनुगमन गर्ने, गराउने उद्देश्यका लागि निर्देशन जारी भएको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै पटक ६ निकायलाई विभिन्न निर्देशन जारी गरेको छ । निरन्तर सेयर बजार घटिरहेका बेला पुँजी बजार नियामक बोर्डले एकै पटक आफू मातहतका निकायहरुलाई अलग अलग निर्देशन जारी गरेको हो ।
धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन धितोपत्र बजार तथा धितोपत्र व्यवसायीहरूको कारोबारको नियमन तथा अनुगमन गर्ने, गराउने उद्देश्यका लागि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) अनुसार निर्देशन जारी भएको बोर्डले जनाएको छ ।
मंगलबार बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सहित ६ निकायलाई छुट्टाछुट्टे ३४ बुँदे निर्देशन जारी गरेको छ । सबैभन्दा धेरै बुँदा नेप्सेका लागि छन् । बोर्डले नेप्सेलाई १९ बुँदे निर्देशन दिएको छ । बोर्डले ग्राहकले प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सम्बन्धमा लगानीकर्ताबाट गुनासो प्राप्त भएकाले नेप्सेबाट स्वीकृति प्राप्त प्रणालीको आईटी अडिट गरी प्रतिवेदन पेश गर्न भनेको छ । त्यस्तै, धितोपत्र कारोबार प्रणाली (एनओटीएस) मा देखिँदै आएका समस्या पहिचान गरी नयाँ उपकरणहरूको कारोबारसमेत सहज हुने गरी प्रणालीलाई थप आधुनिक, सक्षम र सुरक्षित बनाउनेलगायत १९ बुँदा समेटिएको छ ।
यस्तै धितोपत्र बोर्डले सिडिएससी एण्ड क्लियरिङलाई ५ बुँदे, सूचीकृत कम्पनीलाई २ बुँदे, मर्चेन्ट बैंकरलाई ३ बुँदे, धितोपत्र दलाल व्यवसायी (ब्रोकर)लाई ४ बुँदे र योजना व्यवस्थापक तथा डिपोजिटरीहरुलाई १ बुँदे निर्दृेशन जारी गरेको छ ।
