अपर हेवाखोलाले पायो ५७ करोड ५० लाखको हकप्रद निष्कासन स्वीकृति
कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरणपछि कायम भएको चुक्ता पूँजी ५७ करोड ५० लाख रुपैयाँको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । यसअनुसार कम्पनीले ५७ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ । कम्पनीको १४औँ वार्षिक साधारण सभाबाट पारित प्रस्तावअनुसार आयोगले हकप्रद निष्कासनका लागि सर्तसहित स्वीकृति दिएको हो ।
कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरणपछि कायम भएको चुक्ता पूँजी ५७ करोड ५० लाख रुपैयाँको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । यसअनुसार कम्पनीले ५७ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
हकप्रद शेयर बिक्रीबाट संकलन हुने ५७ करोड ५० लाख रुपैयाँमध्ये ५१ करोड रुपैयाँ मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालिमा लगानी गरिने कम्पनीले जनाएको छ । उक्त रकम मातृभूमि हाइड्रोपावरले निर्माण गर्न लागेको सिसुवाखोला जलविद्युत आयोजनामा खर्च गरिनेछ ।
सिसुवाखोला जलविद्युत आयोजनामा अपर हेवाखोला हाइड्रोपावरको ६०.९ प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ । त्यसैले हकप्रदबाट उठ्ने रकमको ठूलो हिस्सा उक्त आयोजनामा लगानी गर्न लागिएको हो ।
बाँकी ६ करोड ५० लाख रुपैयाँ भने कम्पनीले सञ्चालन गरिरहेको ८.५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको आवधिक ऋण भुक्तानीमा प्रयोग गरिनेछ ।
विद्युत नियमन आयोगको भदौ ८ गते बसेको बैठकले कम्पनीको प्रस्तावमाथि निर्णय गर्दै सर्तसहित पूर्वस्वीकृति दिएको हो । आयोगको स्वीकृति पाएसँगै कम्पनीले अब नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति लिएर हकप्रद शेयर निष्कासनको प्रक्रिया अघि बढाउनेछ ।
