सुपर मादी हाइड्रोपावरको लाभांश प्रस्ताव, असोज १ मा साधारणसभा

विज्ञापन
ncell

काठमाडौं । सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूका लागि कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

यससँगै बोनस सेयरको कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशतका दरले हुन आउने १ करोड ८२ लाख ७८ हजार २८९ रुपैयाँ ४७ पैसा नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ। यसरी कम्पनीले सेयरधनीलाई कुल १५.७८९४७ प्रतिशत लाभांश उपलब्ध गराउने भएको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूले प्राप्त गर्नेछन्। लाभांश प्रस्ताव अनुमोदन गर्न कम्पनीले १७औँ वार्षिक साधारणसभा आगामी असोज १ गते बोलाएको छ ।

साधारणसभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले भदौ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार भदौ २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।