नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट अवकाशप्राप्त कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत रहिसकेका छन् ।
काठमाडौं । नेपाल सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ । उदयपुरका स्थायी बासिन्दा कार्कीलाई २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट अवकाशप्राप्त कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत रहिसकेका छन् । उनी २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशक पदमा छनोट भएका थिए ।
कार्कीसँग नेपाल राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा काम गरेको अनुभवसमेत छ ।
शैक्षिक रूपमा कार्कीले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनले केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता तथा वित्तीय बजार विश्लेषणलगायतका विषयमा अन्तर्राष्ट्रियस्तरका तालिमसमेत लिएका छन् ।
वित्तीय क्षेत्रको लामो अनुभव बोकेका कार्कीको पुनः नियुक्तिसँगै नागरिक लगानी कोषको नेतृत्वमा निरन्तरता आएको छ ।
