‘उपभोक्ता कार्ड’ असफल भयो, अब डिजिटल ट्रयाकिङ आवश्यकः घिमिरे
नेपालको कठिन भौगोलिक अवस्था र कच्ची सडकका कारण ढुवानीका क्रममा नयाँ सिलिण्डर समेत कुच्चिने र रङ उप्किने समस्या रहेको उनले जानकारी दिए ।
काठमाडौं । नेपाल एलपिजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन र सुरक्षा जोखिम न्युनिकरण गर्न सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै घिमिरेले ग्यास क्षेत्रमा लामो समयदेखि कायम रहेका समस्या समाधानका लागि प्रविधिमैत्री अनुगमन आवश्यक रहेको बताएका हुन्।
बैठकमा घिमिरेले विगतमा कार्यान्वयनमा ल्याइएको ‘उपभोक्ता कार्ड’ प्रणाली पूर्ण रूपमा असफल भएको स्मरण गराए । राज्यको लगानी र समय खर्च भएपनि उक्त प्रणालीले नतिजा दिन नसकेको उल्लेख गर्दै उनले अहिलेको सन्दर्भमा डिजिटल ट्रयाकिङ प्रणाली नै उपयुक्त विकल्प भएको दाबी गरे । सिलिण्डरको भौतिक अवस्था र मर्मतसम्भारका चुनौतीबारे चर्चा गर्दै घिमिरेले फलामको वस्तु भएकाले यसको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए ।
नेपालको कठिन भौगोलिक अवस्था र कच्ची सडकका कारण ढुवानीका क्रममा नयाँ सिलिण्डर समेत कुच्चिने र रङ उप्किने समस्या रहेको उनले जानकारी दिए । यस्ता सिलिण्डरको नियमित ‘हाइड्रो टेस्ट’ र पेन्टिङ गर्नुपर्ने बाध्यता रहे पनि पेन्टिङका आधारमा मात्र ट्रयाकिङ गर्नु प्रभावकारी नहुने उनको तर्क छ ।
बजारमा भइरहेको असुरक्षित र अवैध ग्यास रिफिलिङ (पल्टी गर्ने) कार्यप्रति घिमिरेले गम्भीर चिन्ता व्यक्त गरे । नेपालका आधिकारिक उद्योगहरूले ५ केजीका सिलिण्डर नभरिरहेको अवस्थामा पनि बजारमा त्यस्ता सिलिण्डर व्याप्त हुनुले सुरक्षा चुनौती बढाएको बताए । जनकपुर लगायतका क्षेत्रमा यस्तै लापरवाहीका कारण वर्षेनी विस्फोट र धनजनको क्षति हुने गरेको तर्फ उनले समितिको ध्यानाकर्षण गराए ।
