नेपाल बैंकको नाफा ४६ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ३२ करोड

विज्ञापन
ncell

बैंकको खुद ब्याज आम्दानी २.८८ प्रतिशतले घटेर १० अर्ब ३ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १० अर्ब १३ करोड ९२ लाख रुपैयाँ थियो ।

काठमाडौं । नेपाल बैंकको खुद नाफामा उल्लेख्य सुधार भएको छ । आर्थिक वर्ष २०८२/८३ मा बैंकले ४ अर्ब ५० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको ३ अर्ब ७ करोड ८० लाख रुपैयाँको तुलनामा ४६.१८ प्रतिशत बढी हो । नाफामा सुधार भएसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । अघिल्लो वर्ष २० रुपैयाँ ९५ पैसा रहेको ईपीएस गत वर्ष बढेर ३० रुपैयाँ ६३ पैसा पुगेको छ ।

बजारमा ब्याजदर घट्नु तथा बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहँदा बैंकको खुद ब्याज आम्दानी भने सामान्य घटेको छ । बैंकको खुद ब्याज आम्दानी २.८८ प्रतिशतले घटेर १० अर्ब ३ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १० अर्ब १३ करोड ९२ लाख रुपैयाँ थियो ।

गैर-ब्याज आम्दानीतर्फ खुद फि तथा कमिसन आम्दानी १३.३८ प्रतिशतले घटेर १ अर्ब २ करोड ९१ लाख रुपैयाँमा झरेको छ । तर, ट्रेडिङ तथा अन्य सञ्चालन आम्दानीमा भने उल्लेख्य सुधार भएको छ । यस्तो आम्दानी २३३.०२ प्रतिशतले बढेर १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो ३७ करोड ५३ लाख रुपैयाँ थियो ।

बैंकको कर्जा असुलीमा सुधार भएसँगै कर्जा नोक्सानी व्यवस्थामा पनि सकारात्मक प्रभाव परेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब १ करोड ६५ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था राइटब्याक गरेको छ ।

अघिल्लो वर्ष भने बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि २ अर्ब २५ करोड ४३ लाख रुपैयाँ छुट्याएको थियो ।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात पनि घटेको छ । अघिल्लो वर्ष ४.५६ प्रतिशत रहेको एनपीएल अनुपात गत वर्ष ४.१८ प्रतिशतमा झरेको छ ।

नेपाल बैंकले गत आर्थिक वर्षमा व्यवसाय विस्तारलाई तीव्रता दिएको देखिन्छ । अघिल्लो असार मसान्तमा ३ खर्ब ३२ अर्ब ९ करोड रुपैयाँ रहेको कुल निक्षेप २५.०९ प्रतिशतले बढेर ४ खर्ब १५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

कर्जा लगानी पनि बढेको छ । अघिल्लो वर्ष २ खर्ब २० अर्ब ४९ करोड रुपैयाँ रहेको कर्जा लगानी १०.५० प्रतिशतले बढेर २ खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । निक्षेप संकलन कर्जाको तुलनामा उच्च दरले बढेपछि बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ६२.८५ प्रतिशतमा झरेको छ ।

नाफामा सुधारसँगै बैंकको वितरणयोग्य नाफा पनि सकारात्मक बनेको छ । अघिल्लो वर्ष १ अर्ब ४१ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा गत वर्ष २ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले आफ्ना सेयरधनीलाई अधिकतम १५.८४ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ ।

यस अवधिमा बैंकको जगेडा तथा कोष पनि बढेको छ । अघिल्लो वर्ष २२ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ रहेको जगेडा तथा कोष बढेर २७ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ ३३ पैसाबाट बढेर २८७ रुपैयाँ ७० पैसा पुगेको छ । आधार दर ५.५८ प्रतिशतबाट घटेर ४.४५ प्रतिशतमा झरेको छ भने ब्याजदर अन्तर (स्प्रेड) ३.९० प्रतिशतबाट घटेर ३.५४ प्रतिशत कायम भएको छ । बैंकको मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ८.५४ गुणा रहेको छ ।