१४ बैंकको नाफा ४० प्रतिशतले बढ्यो, नबिल अग्रस्थानमा रहँदा कुमारी र हिमालयन बैंकको उच्च वृद्धि

विज्ञापन
ncell

नेपाल बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र लक्ष्मी सनराईज बैंकको वित्तीय विवरण प्रकाशित हुन बाँकी

गत आर्थिक वर्ष २०८२/८३ मा विवरण सार्वजनिक गरेका १४ बैंकहरुले ५३ अर्ब १२ करोड ५ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेका छन् । जवकी तिनै बैंकहरुले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३८ अर्ब २६ करोड ७७ लाख रुपैयाँ नाफा कमाएका थिए ।

काठमाडौं । सञ्चालनमा रहेकामध्ये १४ वाणिज्य बैंकले शुक्रबारसम्म गत आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणबाट बैंकहरुले समग्रमा ३९.७८ प्रतिशतको खुद नाफा बृद्धि गरेका छन् । 

विवरण सार्वजनिक भएकामध्ये १३ बैंकले नाफा बढाउँदा एउटा बैंक भने नोक्सानीमा गएको छ । नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा रहेकाले अझै ६ वटा बैंकको अपरिस्कृत वित्तीय विवरण प्रकाशित हुन बाँकी छ । सरकारी स्वामित्वका नेपाल बैंक, कृषि विकास बैंकसहित स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र लक्ष्मी सनराईज बैंकले शुक्रबारसम्म आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

गत आर्थिक वर्ष २०८२/८३ मा विवरण सार्वजनिक गरेका १४ बैंकहरुले ५३ अर्ब १२ करोड ५ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेका छन् । जवकी तिनै बैंकहरुले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३८ अर्ब २६ करोड ७७ लाख रुपैयाँ नाफा कमाएका थिए ।

नाफा रकमका आधारमा नबिल बैंक सबैभन्दा अगाडि छ । नबिलले गत वर्ष ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष भने नबिलले ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा नबिलको नाफा साढे ३३ प्रतिशतले बढेको छ ।

यसपटक नबिललाई कुमारी बैंकले पछ्याएको छ । यसपटक कुमारी बैंक सबैभन्दा धेरै नाफा बढाउने बैंकहरुमध्ये पनि दोस्रोमा परेको छ । कुमारीको नाफा अघिल्लो वर्षको १ अर्ब ८१ करोड ९६ लाख ९८ हजार रुपैयाँको तुलनामा ३०५.९६ प्रतिशतले बढाएर गत वर्ष ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपैयाँ पुर्‍याएको छ ।

बढी नाफा कमाउने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक छ । ग्लोबल आईएमईले अघिल्लो वर्षको ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँमा २२.६७ प्रतिशतले नाफा बढाउँदै ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ पुर्‍याएको छ । 

उता, चौथो सूचीमा रहेको एभरेस्ट बैंकले गत वर्ष ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको नाफा ४ अर्ब ८३ करोड ९९ लाख ३ हजार रुपैयाँको तुलनााम ४.७५ प्रतिशत मात्र बढी हो ।

बढी नाफा गर्नेमा एभरेस्टलाई सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पछ्याएको छ । गत वर्ष राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको नाफा २ अर्ब ८३ करोड ६० लाख २ हजार रुपैयाँको तुलनामा ६०.६८ प्रतिशतले बढी हो ।

राष्ट्रिय वाणिज्य बैंकलाई भने प्राइम कमर्सियल बैंकले पछ्याएको छ । प्राईमले गत वर्ष ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन नाफा अघिल्लो वर्षको ३ अर्ब २० करोड ७ लाख ५८ हजार रुपैयाँको तुलनामा २८.४९ प्रतिशतले बढी हो । 

प्राईमलाई पछ्याएको एनएमबी बैंकले आफ्नो नाफा गत वर्ष ४०.६० प्रतिशत बढाएको छ । अघिल्लो वर्ष २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँ नाफा गरेको एनएमबीले गत वर्ष ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ नाफा गरेको छ ।

सिद्धार्थ बैंकले गत वर्ष ३ अर्ब ५१ करोड ९४ लाख ९ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको नाफा ३ अर्ब ३६ करोड ६५ लाख ९४ हजार रुपैयाँको तुलनामा ४.५४ प्रतिशत बढी हो ।

सानिमा बैंकले गत आर्थिक वर्ष २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ नाफा गरेको छ । जुन नाफा अघिल्लो वर्षको २ अर्ब १० करोड २९ लाख ६ हजार रुपैयाँको तुलनामा ३४.६६ प्रतिशतले बढी हो ।

माछापुच्छ्रे बैंकले गत वर्ष २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ नाफा गरेको छ । जुन नाफा अघिल्लो वर्षको १ अर्ब ८८ करोड ३६ लाख ४३ हजार रुपैयाँको तुलनामा १२.२४ प्रतिशत बढी हो ।

सिटिजन्स बैंक इन्टरनेसनलको गत वर्ष ६३.०५ प्रतिशतले नाफा बढेाएको छ । सिटिजन्सले अघिल्लो वर्ष १ अर्ब २८ करोड ७० लाख ७५ हजार रुपैयाँ नाफा कमाएकोमा गत वर्ष भने बढाएर २ अर्ब ९ करोड ८६ लाख ३ हजार रुपैयाँ पुर्‍याएको छ । 

उता, नेपाल एसबीआई बैंकले गत वर्ष २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष १ अर्ब ८१ करोड ९ लाख ६० हजार रुपैयाँ नाफा गरेको नेपाल एसबीआईले नाफा १२.८९ प्रतिशतले बढाएको हो ।

हिमालयन बैंक वित्तीय विवरण प्रकाशित भएकामध्ये सबैभन्दा कम नाफा गर्ने बैंक हो । यद्यपी हिमालयनको नाफा सबैभन्दा धेरै प्रतिशतले बढेको छ । हिमालयनले गत वर्ष १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन नाफा गत वर्षको १२ करोड ९७ लाख २६ हजार रुपैयाँको तुलनामा १०४१.१६ प्रतिशतले बढी हो ।

प्रकाशित वित्तीय विवरण अनुसार गत वर्ष प्रभू बैंक मात्र नोक्सानीमा गएको छ । अघिल्लो वर्ष ८७ करोड २३ लाख २६ हजार रुपैयाँ नाफामा रहेको प्रभू बैंक गत वर्ष भने २४ करोड १२ लाख ४३ हजार रुपैयाँ नोक्सानीमा गएको छ ।