अपर तामाकोशी पहिलोपटक नाफामा, ९२ करोड ५९ लाख कमायो

विज्ञापन
ncell

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२र८३ मा नाफा कमाउँदै वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा ९२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा कम्पनी ३ अर्ब ६८ करोड रुपैयाँ घाटामा थियो । एक वर्षमै घाटाबाट नाफामा फर्किनुको मुख्य कारण विद्युत् बिक्री आम्दानीमा भएको उल्लेख्य वृद्धि देखिएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा विद्युत् बिक्रीबाट १० अर्ब ६६ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ६ अर्ब ९२ करोड ३७ लाख रुपैयाँ थियो । यसअनुसार एक वर्षमा विद्युत् बिक्री आम्दानी ३ अर्ब ७४ करोड रुपैयाँले बढेको छ, जुन करिब ५४ प्रतिशतको वृद्धि हो ।

विद्युत् बिक्री आम्दानी बढेसँगै कम्पनीको सञ्चालन नाफामा पनि ठूलो सुधार आएको छ । अघिल्लो वर्ष १ अर्ब ९१ करोड रुपैयाँ रहेको सञ्चालन नाफा गत आर्थिक वर्षमा बढेर ६ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यो करिब २१८ प्रतिशतको वृद्धि हो ।

कम्पनीको नाफा सुधारमा वित्तीय लागत घट्नुले पनि साथ दिएको छ । आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ६३ करोड रुपैयाँ रहेको वित्तीय लागत गत आर्थिक वर्षमा घटेर ५ अर्ब १५ करोड रुपैयाँमा झरेको छ । ब्याजदर घटेका कारण कम्पनीको वित्तीय लागतमा करिब ४८ करोड रुपैयाँको कमी आएको हो । त्यस्तै, प्रशासनिक तथा परियोजना खर्च पनि घटेको छ। अघिल्लो वर्ष ९६ करोड ८८ लाख रुपैयाँ रहेको यस्तो खर्च गत आर्थिक वर्षमा ६३ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । विदेशी विनिमयतर्फको घाटा पनि २४ करोड ४९ लाख रुपैयाँबाट घटेर ७ करोड ९९ लाख रुपैयाँमा आएको छ ।

यी सुधारका कारण अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६८ करोड रुपैयाँ घाटामा रहेको अपर तामाकोशी गत आर्थिक वर्षमा ९२ करोड ५९ लाख रुपैयाँ नाफामा फर्किन सफल भएको हो ।

तर, नाफामा फर्किए पनि कम्पनीमाथि रहेको ठूलो ऋणको भार भने अझै चुनौतीकै रूपमा छ । असार मसान्तसम्म कम्पनीको दीर्घकालीन ऋण ६७ अर्ब ९ करोड रुपैयाँभन्दा बढी रहेको छ । त्यस्तै, कम्पनीको सञ्चित नोक्सानी करिब १२ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म कम्पनीको कुल इक्विटी करिब ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ भने ४४ रुपैयाँ ४८ पैसा रहेको छ । समग्रमा, अपर तामाकोशी सञ्चालनबाट राम्रो आम्दानी गर्ने अवस्थामा पुगेको देखिए पनि विगतको ठूलो ऋण र सञ्चित नोक्सानीको भारबाट भने कम्पनी अझै पूर्ण रूपमा मुक्त भइसकेको छैन ।