एनआरएन नेपाल डेभलपमेन्ट फन्डलाई आईपीओ निष्कासनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।
सेबोनले धितोपत्र निष्कासनसम्बन्धी नियमावली संशोधन गर्दै मंगलबार फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्ने बाटो खुला गरेको हो । स्वीकृतिअनुसार फन्डले आफ्नो ८५ प्रतिशत सेयर आईपीओमार्फत निष्कासन गर्न पाउनेछ । आईपीओमा लगानी गरिएको रकम पूर्ण रूपमा विदेशी मुद्रामा फिर्ता लैजान सकिने व्यवस्था समेत गरिएको छ ।
फन्डले आईपीओ जारी गर्ने अनुमति पाएसँगै गैरआवासीय नेपालीमार्फत नेपालका पूर्वाधार तथा अन्य क्षेत्रमा थप लगानी भित्र्याउने बाटो खुलेको छ । विदेशी मुद्रामा लगानी गर्न सकिने र लगानी फिर्ताको सुविधा भएकाले यसले विदेशमा रहेका नेपालीको लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेड २०७७ चैतमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो । स्थापना भएको करिब ६ वर्षपछि फन्डले आईपीओ निष्कासनका लागि स्वीकृति पाएको हो ।
