विद्यार्थीलाई सेयर बजारको प्रत्यक्ष अनुभव दिलाउन नेप्सेको ‘भिजिट नेप्से’ कार्यक्रम

विज्ञापन
ncell

कार्यक्रममार्फत विद्यार्थीलाई पुँजी बजारको संरचना, सेयर कारोबारको प्रक्रिया, लगानीका आधारभूत पक्ष तथा नेप्सेको कार्यप्रणालीबारे व्यवहारिक जानकारी प्रदान गरिनेछ ।

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विद्यार्थीमा पुँजी बजारसम्बन्धी ज्ञान र वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको ‘भिजिट नेप्से’ कार्यक्रमका लागि विद्यालय तथा क्याम्पसबाट आवेदन आह्वान गरेको छ ।

चालु आर्थिक वर्ष २०८३/८४ का लागि सञ्चालन हुने कार्यक्रममा सहभागी हुन इच्छुक शैक्षिक संस्थालाई नेप्सेले आवेदन दिन आग्रह गरेको हो । कार्यक्रममार्फत विद्यार्थीलाई पुँजी बजारको संरचना, सेयर कारोबारको प्रक्रिया, लगानीका आधारभूत पक्ष तथा नेप्सेको कार्यप्रणालीबारे व्यवहारिक जानकारी प्रदान गरिनेछ ।

नेप्सेका अनुसार सहभागी विद्यार्थीलाई अवलोकन भ्रमण र अन्तरक्रिया कार्यक्रममार्फत पुँजी बजारका विभिन्न आयामबारे प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्रदान गरिनेछ । यसले विद्यार्थीमा लगानी तथा वित्तीय व्यवस्थापनसम्बन्धी चेतना विकास गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा आफ्ना विद्यार्थी सहभागी गराउन चाहने विद्यालय तथा क्याम्पसले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दर्ता गराउनुपर्नेछ। नेप्सेले भदौ ९ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

आवेदनमा शैक्षिक संस्थाको नाम र ठेगाना, सहभागी हुने अनुमानित विद्यार्थी संख्या, भ्रमणका लागि प्रस्तावित मिति, विद्यार्थीको कक्षा वा तह तथा सम्पर्क व्यक्तिको नाम र फोन नम्बर उल्लेख गर्नुपर्नेछ ।

इच्छुक शैक्षिक संस्थाले नेप्सेको आधिकारिक इमेल nepseresearch@nepalstock.com.np मार्फत आवश्यक विवरण पठाई आवेदन दर्ता गर्न सक्नेछन् ।