नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम भने ४ अर्ब ५७ करोड माथि
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार सामान्य घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.२० अंकले घटेर २६८४.३३ को विन्दुमा बन्द भएको हो । दिउँसो कारोबारको अधिकांश समयमा नेप्से हरियो रहे पनि अन्तिमतिर केही खस्किएको हो । सेन्सेटिभ इण्डेक्स ०.४९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक बढेको छ ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । गत शुक्रबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ५७ करोड २० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । एभरेष्ट कलर लिमिटेडको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमूल्य आज सर्वाधिक ७.४० प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावरको २० करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज बजारमा १२६ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
