१२ महिनामा जीवन बीमा कम्पनीको व्यापार २ खर्ब नाघ्यो, नेपाल लाइफ अग्रस्थानमा
काठमाडौं । गत आर्थिक वर्ष २०८२र८३ मा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले कुल २ खर्ब १ अर्ब ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूको व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा १२.४३ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष २०८१/८२ मा कम्पनीहरुले १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ भित्र्याएका थिए ।
समीक्षा अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्दै नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा कायम रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क ४७ अर्ब ७९ करोड १ लाख रुपैयाँ रहेको थियो ।
नेसनल लाइफ इन्स्योरेन्स २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै दोस्रो स्थानमा रहेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले २२ अर्ब २२ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । धेरै व्यापार भित्र्याउने हिसाबले लाइफ इन्स्योरेन्स कर्पोरेसन ९एलआईसी नेपाल० तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष कम्पनीले १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा वर्ष २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यसैगरी समीक्षा वर्षमा हिमालयन लाइफले १८ अर्ब ५६ करोड ५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १२ अर्ब ९० करोड ६७ लाख रुपैयाँ, एसियन लाइफले १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
त्यस्तै समीक्षा वर्षमा सिटिजन लाइफले ९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७ अर्ब ९९ करोड ४२ लाख रुपैयाँ, आइएमई लाइफले ७ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ, मेट लाइफले ६ अर्ब ८६ करोड ३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ६५ अर्ब ४२ करोड ८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ६ अर्ब ३३ करोड ६९ लाख रुपैयाँ र सन नेपाल लाइफले ४ अर्ब ६३ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सबै जीवन बीमा कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा बढेको छ, जसले जीवन बीमा क्षेत्रमा ग्राहकको आकर्षण र बजार विस्तार दुवै बढिरहेको संकेत गरेको छ।
