चैतभित्र पुँजीगत खर्च सक्न र बेरुजु शुन्यमा झार्न श्रममन्त्रीको निर्देशन
सैद्धान्तिक बेरुजु समयमै फरफारक गरी चालु आर्थिक वर्षभित्र बेरुजु शुन्यमा झार्ने लक्ष्यसहित काम गर्न उनले आग्रह गरे ।
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले चालु आर्थिक वर्षको पुँजीगत खर्च चैत मसान्तभित्रै अधिकतम रूपमा सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीवार मन्त्रालयमा भएको मन्त्रालय तथा मातहतका निकायसँगको छलफलमा उनले चैत्रभित्र नै पुँजीगत खर्च सक्न दिर्नेशन दिएका हुन् । उनले बर्षको अन्तिम तीन महिनामा अन्य कार्यको चाप बढ्ने भएकाले पुँजीगत बजेट समयमै खर्च गर्नुपर्नेमा जोड दिए । उनले बेरुजु फस्र्यौटलाई प्राथमिकतामा राख्दै असुल गर्नुपर्ने रकम अनिवार्य असुल गर्न पनि निर्देशन दिए ।
सैद्धान्तिक बेरुजु समयमै फरफारक गरी चालु आर्थिक वर्षभित्र बेरुजु शुन्यमा झार्ने लक्ष्यसहित काम गर्न उनले आग्रह गरे । मन्त्री यादवले प्रत्येक महिना सबै महाशाखा, विभाग र कार्यालयले कम्तीमा एउटा नीतिगत सुधार र एउटा डिजिटल सुधारको प्रश्ताव तयार गरी स्वीकृतिपछि कार्यान्वयनमा लैजानुपर्ने व्यवस्था लागू गर्न पनि निर्देशन दिए ।
उनले मन्त्रालयलाई कार्यसम्पादनमा पहिलो हुने गरि काम गर्न पनि आग्रह गरे । उनले कर्मचारीको कार्यसम्पादन मूल्यांकन बजेट खर्चका आधारमा नभई सार्वजनिक सेवा प्रवाह, सुशासन, जनतामा परेको प्रभाव र प्रमुख कार्यसम्पादन सूचक (केपीआई) का आधारमा हुने पनि बताए । उनले जनअपेक्षाअनुसार काम गर्न कर्मचारीहरूलाई आग्रह गरे ।
