बजेट अभावका कारण काम प्रभावित हुन दिन्नः सञ्चारमन्त्री तिमिल्सिना
मन्त्री तिमिल्सिनाले बजेट निर्माणको समयमा प्रत्येक निकायसँग सघन छलफल गरिएको भएपनि कार्यान्वयनको चरणमा कतिपय महत्वपूर्ण शिर्षकहरूमा बजेट कटौती भएको पाइएको उल्लेख गरे ।
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बजेट अभावका कारण मन्त्रालय अन्तर्गतका निकायहरूको कार्यसम्पादनमा अवरोध हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सिंहदरबारमा बिहीबार आयोजित मन्त्रालयको त्रैमासिक समीक्षा बैठकमा बोल्दै उनले बजेट विनियोजनको क्रममा देखिएका प्राविधिक कठिनाइहरू समाधान गर्न आफूले पहल गर्ने बताएका हुन् । मन्त्री तिमिल्सिनाले बजेट निर्माणको समयमा प्रत्येक निकायसँग सघन छलफल गरिएको भएपनि कार्यान्वयनको चरणमा कतिपय महत्वपूर्ण शिर्षकहरूमा बजेट कटौती भएको पाइएको उल्लेख गरे । विशेषगरी हुलाक सेवा विभागको ढुवानी सेवालाई प्रभावकारी बनाउन प्रस्ताव गरिएको मोटरसाइकल खरिदको बजेट कटौती भएकोमा उहाँले चासो व्यक्त गरे । उनले बजेट कटौतीको विषयमा आफूले अर्थमन्त्रीसँग सिधै संवाद गर्ने स्पष्ट पारे । नियतवश नभए पनि प्राविधिक कारणले कतिपय अत्यावश्यक योजनाहरू छुटेको हुनसक्ने भन्दै उनले त्यस्ता समस्या समाधानका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्ने बताए ।
मन्त्री तिमिल्सिनाले मन्त्रालयको कार्यसम्पादन र सफलता नै समग्र सरकारको सफलताको आधार भएको बताए । मन्त्री तिमिल्सिनाले कर्मचारीहरूलाई परिणाममुखी भएर काम गर्न निर्देशन दिए । मन्त्रालय मातहतका सबै निकायहरूले प्रभावकारी रूपमा कार्यसम्पादन गरे मात्रै सञ्चार मन्त्रालय सफल हुने र त्यसकै जगमा सरकारको सफलता निर्भर रहने उनको भनाइ छ । मन्त्रालयका समस्या समाधानका लागि आपसी समन्वय र सल्लाहमा जोड दिँदै उनले प्रशासनिक कार्यविधि वा अन्य अल्झनका कारण काम नरोक्न आग्रह गरे । निकायगत छलफल र समन्वयबाट समस्या समाधान नभए सिधै आफू वा मन्त्रालयको सचिवालयमा सम्पर्क गर्न उनले कर्मचारीहरूलाई आह्वान गरे । मन्त्री तिमिल्सिनाले आफूलाई औपचारिकता वा शिष्टाचार भेटघाट (कोर्टेसी मिटिङ) मा भन्दा पनि कामको नतिजामा बढी रुचि रहेको स्पष्ट पारे । मन्त्री तिमिल्सिनाले कर्मचारीहरूलाई समस्या लुकाएर नराख्न र प्रक्रियागत ढिलासुस्ती हटाएर नतिजा निकाल्ने गरी जिम्मेवारी पूरा गर्न सचेत गराए । कार्यसम्पादनका क्रममा आइपर्ने जटिलता फुकाउन आफू सधैँ तत्पर रहेको उल्लेख गर्दै उनले नतिजाका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
