लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा सीमित
नेप्से परिसूचक आज ७.७९ अंकले घटेर २६८८.८८ को विन्दुमा बन्द भएको छ । बुधबार कारोबार रकम घटेर ४ अर्ब २ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ ।
काठमाडौं । लगातार तेस्रो दिन बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । सोमबारदेखि घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि घटेको हो । नेप्से परिसूचक आज ७.७९ अंकले घटेर २६८८.८८ को विन्दुमा बन्द भएको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.७८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ । नेप्सेका १३ उपसमूहमध्ये बुधबार २ वटा उपसमूहको परिसूचक बढेको छ भने ११ वटा उपसमूह घटेका छन्।
यस दिन म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। बाँकी सबै उपसमूहका परिसूचक सामान्य अंकले घटेका छन्।
नेप्सेसँगै आज कारोबार रकमले पनि घट्ने क्रमलाई निरन्तरता दिएको छ । मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार कारोबार रकम घटेर ४ अर्ब २ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ ।
बुधबार एभरेष्ट कलरको सेयरमूल्य लगातार आठौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस्तै, कालिन्चोक हाइड्रोपावरको सेयरमूल्य करिब १२.५ प्रतिशतले वृद्धि भएको छ। अन्य बढ्ने कम्पनीहरूको मूल्य वृद्धि भने ५ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा बुधबार हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ । कम्पनीको २२ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, खानी खोला हाइड्रोपावरको २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बुधबार कारोबारमा आएको मध्य ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८६ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर छ ।
