नेप्से फेरि २७ सयको विन्दुमा, ३३ अंक घट्दा ६ अर्ब बढीको कारोबार
आज नेप्से ३३.२८ अंकले घटेर २७०१.३२ को विन्दुमा झरेको हो । आज ६ अर्ब ८ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । गत शुक्रबार बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज नेप्से, आज भने घटेर बन्द भएको हो । आज नेप्से ३३.२८ अंकले घटेर २७०१.३२ को विन्दुमा झरेको हो ।
पछिल्ला नौ कारोबार दिनमध्ये आठ दिन बजार बढेको थियो । सो अवधिमा नेप्से करिब १६० अंकभन्दा बढीले उकालो लागेको थियो । छोटो अवधिमा भएको वृद्धिपछि नाफा सुरक्षित गर्ने प्रवृत्ति बढ्दा बिक्री चाप देखिएको हो ।त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.९८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । शुक्रबार ६ अर्ब २६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ६ अर्ब ८ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
एभरेष्ट कलर लिमिटेडको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सर्वाधिक १३.३८ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पीनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको २८ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.३० प्रतिशत घटेको छ।
शुक्रबार कारोबारमा आएको मध्य ३६ कम्पनीको सेयर मूल्य बढ्दा २३४ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर छ ।
