अल्पकालिन नाफा बुक गर्दा ६ कारोबार दिनपछि घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो
कारोबार मध्य समयतिर नेप्से उच्च अंकले घट्ने संकेत देखाएपनि अन्तिम समयतिर भने पुनः सम्हालिएको थियो । बुधबार नेप्से १३.९५ अंक घटेर २७१२.५४ अंकमा रोकिएको छ ।
काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज बुधबार घटेर बन्द भएको छ । लगातार ६ दिनदेखि बढिरहेको नेप्से सातौं कारोबार दिन भने घटेको हो । पछिल्ला ६ कारोबार दिनमा नेप्से १५६.३ अंकले बढेको थियो । निरन्तर बढेको बजारमा अल्पकालीन लगानीकर्ताहरुले नाफा ‘बुक’ गर्ने प्रयास गर्दा नेप्से घटेर बन्द भएको हो ।
कारोबार मध्य समयतिर नेप्से उच्च अंकले घट्ने संकेत देखाएपनि अन्तिम समयतिर भने पुनः सम्हालिएको थियो । बुधबार नेप्से १३.९५ अंक घटेर २७१२.५४ अंकमा रोकिएको छ । यद्यपी कारोबारको मध्यतिर नेप्से २६९४.५४ अंकसम्म झरेको थियो भने कारोबारको सुरुवातमै २७२२.५८ विन्दुसम्म उक्लिएको थियो ।
बुधबार सेन्सेटिभ इण्डेक्स २.१० अंक, फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंक घटेको छ । बुधबार नेप्सेसँगै कारोबार रकम पनि खुम्चिएको छ । मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा बुधबार ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
बुधबार एभरेष्ट कलर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएर ४९२ रुपैयाँ ४० पैसा पुगेको छ । यसदिन ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ७.१६ प्रतिशतले घटेको छ । बुधबार सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा रिडी पावर कम्पनी रहेको छ र डिीको ४२ करोड ३० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । नेप्सेमा वर्गिकृत १३ उपसमूहमध्ये बुधबार वित्त र उत्पादन तथा प्रशोधन उपसमूह सूचक सामान्य अंक बढे्दा बाँकी सबै उपसमूह घटेका छन् ।
